काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले रेमिट्यान्सबाट भित्रिने रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्न आग्रह गरेका छन् ।
चेम्बर अफ कमर्सको ७४औँ वार्षिक साधारणसभामा अध्यक्ष अग्रवालले रेमिट्यान्सको झण्डै ९० प्रतिशत हिस्सा उपभोगमै खर्च भइरहेको बताए । सो रकमलाई अर्थतन्त्रको विस्तारमा योगदान गर्नेगरी उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । मुलुकलाई आत्मनिर्भर बनाउन अर्थतन्त्रका हरेक क्षेत्रमा उत्पादन र उत्पादकत्व बढ्नु अपरिहार्य रहेको उनको भनाइ छ । यस्तै, उनले स्थानीय उत्पादनको प्रवर्द्धन एवं निर्यात वृद्धि गरी आयात व्यवस्थापन गर्न नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र स्थापना गर्न आवश्यक रहेको बताए । ‘अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र स्थापना गर्न सकियो भने स्थानीय उत्पादनको एकीकृत प्रवर्द्धन, बजारीकरण एवं एकद्वार प्रणालीमार्फत गुणस्तरमापन गर्न सकिन्छ’, उनले भने ।
आयात व्यवस्थापन र निर्यात प्रवर्द्धनका लागि पनि आन्तरिक उत्पादन अनिवार्य रहेको उनले बताए । तुलनात्मक लाभ भएका कृषि, जलस्रोत, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक रहेकोमा पनि अग्रवालले जोड दिए । उनले भने, ‘युवाहरूलाई स्वेदशमै रोजगारी सिर्जना गर्ने गरी रणनीतिक योजना बनाइनुपर्छ । रोजगारीका लागि विदेशिएका युवाहरू स्वदेश फर्किने क्रममा अध्यागमनमा उनीहरूको सिप र ज्ञानको लगत संकलन गरी स्वदेशकै उत्पादनमूलक क्षेत्रमा प्रयोग गरिनुपर्छ ।’
नेपाल उज्यालो युगमा प्रवेश गरिरहँदा विद्युत् उत्पादनको क्षेत्रमा अझै पनि नीतिगत चुनौतीहरू देखापरेको अध्यक्ष अग्रवालले बताए । ऊर्जा विधयेकमा उल्लेखित प्रावधान, अदालतबाट आएका फैसला र वन मन्त्रालयबाट आएका निर्देशिकाले जलविद्युत् आयोजनाहरूको निर्माणमा गम्भीर चुनौती खडा गरेको उनको भनाइ छ । ‘संरक्षित वन क्षेत्रमा विद्युत् विकास विभागमार्फत अनुमति लिएर डेभलपरहरूले लगानी गरिसकेको अवस्थामा पछिल्लो समय अदालतको फैसलाको आधारमा सम्बन्धित निकायबाट वन क्षेत्रमा भएको अवरोधले प्रसारण लाइन र आयोजना निर्माण अन्योलमा परेको छ भने लगानीकर्ताको करोडौँ रुपैयाँ थप जोखिममा परेको छ’, उनले भने, ‘यस्तोखाले जटिल प्रावधानलाई संसद्बाट कानुन बनाएर संशोधन गरिनुपर्छ ।’ ऊर्जा विधेयकमा उल्लेखित केही प्रावधानका कारण जलविद्युत् आयोजना बन्नै नसक्ने अवस्था सिर्जना भएको उनले बताए ।