काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले ‘केही गर्न सक्छौँ र गर्नुपर्छ’ भन्ने सङ्कल्प प्रकट भएकामा खुसी व्यक्त गर्दै निजी क्षेत्र विकासका लागि आत्मविश्वासका साथ अघि बढेकाले सरकार त्यसलाई सघाउन तयार रहेको बताए ।
निजी क्षेत्रले दिएका सुझावका आधारमा सरकारले नीति र कानुन बनाउँदै आएको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सेवा र सुविधा दिन विद्यमान प्रणाली स्थापना भएको र अहिलेको सरकारले यस प्रणालीलाई बलियो बनाउँदै उत्पादन र उत्पादकत्व बढाउन अग्रसर रहेको जनाए । कार्यक्रममा बढी कर तिर्ने क्षेत्रगत कम्पनी र महासङ्घका उत्कृष्ट प्रदेश र जिल्ला समितिलाई सम्मान गरिएको थियो ।