काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीको ड्रिम प्रोजेक्ट हो, दमक भ्यु टावर । दमक भ्यु टावर किन बनाइयो, यसको औचित्य के हो, यो बनाउन कति खर्च लाग्यो, बनाउँदा क–कसलाई फाइदा भयो भन्ने कुरा प्रधानमन्त्री ओली र त्यो बनाउने ठेकेदारले नै जानून् । खैर दमक भ्यु टावरको कुरा थाँती राख्दै भ्यु टावर बनाउने ठेकेदार मदन अधिकारीको कुरा गरौँ ।अधिकारी दमक भ्यु टावर बनाउने व्यक्ति हुन् । उनको योजनामा भ्यु टावर बनेको हो । जसमा राज्यकोषको उत्पादनमूलक क्षेत्रमा जानुपर्ने करोडौँ रुपैयाँ दुरुपयोग भएको छ । यस अर्थमा अधिकारी वर्तमान प्रधानमन्त्री ओलीका निकै नजिकका व्यक्ति हुन् । उनको यो साइनो अहिले नेपाल राष्ट्र बैंकको भावी गभर्नरको दौडसम्म जोडिएको छ । नेपाल राष्ट्र बैंककी कामु गभर्नर डा. निलम ढुङ्गाना तिम्सिना दमक भ्यु टावरकै हर्ताकर्ता अधिकारीकी भान्जी हुन् । अहिले उनी त्यही साइनोलाई जोड्दै बुन्दै, कहिले कांग्रेसी हुँ, कहिले एमाले हुँ भन्दै साइनो गाँस्दै बसेकी छिन् । यो साइनो कस्ने डोरीचाहिँ अधिकारी हुन् । ती अधिकारी अहिले आफ्नी भान्जीलाई मुलुकको १८औँ गभर्नर बनाउन कहिले सिंहदरबार त कहिले बालुवाटार धाइरहेका छन् ।
ढुङ्गाना त्यस्तो व्यक्ति हुन्, जो यसअघि पनि कामु गभर्नर भइसकेकी छिन् । यसअघि पनि तत्कालीन अर्थमन्त्री जनार्धन शर्मा ‘प्रभाकर’का पालामा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता, एमालेको आर्थिक विभाग प्रमुखमा एम अधिकारी छद्मभेषी नाम भएको र त्यो व्यक्ति तत्कालीन गभर्नर अधिकारी नै भएको विषयमा अनुसन्धानमा परेपछि उनी निलम्बनमा परेका थिए । त्यतिबेला पनि ढुङ्गाना कामु गभर्नर बनेकी थिइन् । कामु गभर्नर बनेलगत्तै ढुङ्गानाले राष्ट्र बैंकको आधिकारिक वेबसाइटदेखि लिएर राष्ट्र बैंकको भित्ताहरूबाट समेत गभर्नर अधिकारीको फोटो हटाएर हतार–हतारमा आफ्नो फोटो राखेकी थिइन् । पछि अधिकारी अदालतको आदेशपछि गभर्नरको पदमा पुनर्वहाली भएर आएपछि ढुङ्गानाले आफ्नो फोटो हटाएकी थिइन् । यस अर्थमा कामु गभर्र्नर ढुङ्गाना विवादमा परिरहने व्यक्ति हुन् । अघिल्लो पुस २८ गते पनि उनी यस्तै विवादमा परेकी थिइन् । राष्ट्र बैंक स्वयम्ले नगरकोटमा आयोजना गरेको दुई दिनको ‘रिफ्रेसमेन्ट पार्टी’मा उनीमाथि राष्ट्र बैंकका केही व्यक्तिहरूले गलत व्यवहार देखाएका थिए । त्यो विषयमा आर्थिक दैनिकले नै समाचार सम्प्रेषण गरेपछि गलत गर्ने ती व्यक्ति कारबाहीमा परेका थिए । अहिले ती व्यक्ति पनि पुनर्वहाली भएर राष्ट्र बैंकमा फर्किसकेका छन् ।
लगातार विवादको भुमरीमा पर्दै आएकी तिनै ढुङ्गाना अहिले राष्ट्र बैंकको भावी गभर्नरको दौडमा छिन् । उनलाई गभर्नर बनाउन केही व्यक्तिहरू दिलोज्यान दिएर लागि परिरहेका छन् । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन भएको अर्थविद डा. विश्व पौडेल र विजयनाथ भट्टराईसहितको गभर्नर छनोट समितिले भावी गभर्नरको रूपमा राष्ट्र बैंकका दुई जना डेपुटी गभर्नरमध्येमा वरिष्ठतमको आधारमा उनको नाम सिफारिस गर्नेछ । यसमा दुईमत छैन । तर अहिलेसम्म उनको नाम सिफारिस भने भएको छैन । गभर्नरको दौडमा रहेकी तिनै ढुङ्गानाको शैक्षिक योग्यतामा भने प्रश्नचिह्न खडा भएको छ । उनको शैक्षिक योग्यतामा त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर, अष्ट्रेलियाको वोलोङ्गोङ विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र भारतको मेवार विश्वविद्यालयबाट प्रबन्धनमा डक्टरेट डिग्री प्राप्त गरेको भन्ने उल्लेख छ ।
तर त्रिभुवन विश्वविद्यालय विसं २०७९ भदौ १४ गते जारी गरेको एक सूचनाले भने कामु गभर्नर डा. तिम्सिनाको शैक्षिक योग्यतामाथि प्रश्नचिह्न खडा गरिदिएको छ । उक्त समय त्रिभुवन विश्वविद्यालयले जारी गरेको समकक्षता स्थगनसम्बन्धी अत्यन्त जरुरी सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा सिंघानियाँ विश्वविद्यालय, राजस्थान, भारत, मेवार विश्वविद्यालय, राजस्थान, भारत, साइनाथ विश्वविद्यालय, झारखण्ड, भारत र लभ्ली प्रोफेसनल विश्वविद्यालय, पञ्जाव, भारतबाट विभिन्न तहको शैक्षिक योग्यताको उपाधि लिएकोमा यस केन्द्रबाट प्रदान गरिने समकक्षता हाललाई स्थगन गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ यो सूचना ढुङ्गानाको हकमा लागू नभएको पनि हुन सक्छ तैपनि तत्कालीन समयमा जारी भएको यो सूचनाले उनको शैक्षिक योग्यतामाथि प्रश्न भने उठाएको छ । यो विषमा ढुङ्गानाको मोबाइलमा पटक–पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन । यो विषयमा राष्ट्र बैंककै केही उच्च अधिकारीसँग बुझ्न खोज्दा ती अधिकारीले यो विषयमा आफूहरूलाई जानकारी नभएको र त्यो मानव संसाधन विभागका प्रमुख (एचआर प्रमुख)लाई मात्र थाहा हुने बताए ।