काठमाडौं । राजा पुनःस्थापना गर्न भनेर निकालिएको जुलुसलाई हिंसात्मक बनाएर व्यक्तिहत्यासम्म पुर्याएको आरोप लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई झापाबाट विमानमा काठमाडौं ल्याउने तयारी रहेको बुझिएको छ । स्रोतहरुले भने प्रसाईँ भारतमा पक्राउ परेको तर नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएकाले पक्राउ नपरेको भनेर सूचना जारी गरेको हो । नेपालका नागरिक भारतमा पक्राउ पर्ने र भारतका नागरिक नेपालमा पक्राउ परेमा दुई देशका अधिकारीहरुबीच अनौपचारिक रुपमा लेनदेन गर्ने प्रचलन छ । खासगरी उनीहरु जहाँ पक्राउ परे पनि सीमा क्षेत्रमा पक्राउ परेको भन्ने चलन छ । प्रसाईँ भारतको आसाममा पक्राउ परेको स्रोतको दाबी छ । उनले आफू नेपालमै रहेको भनेर बुधबार भिडियो सन्देश जारी गरेका थिए ।
स्रोतका अनुसार प्रसाईँलाई नेपाल र भारत सीमाक्षेत्रबाट पक्राउ परेको भनेर शुक्रबार नेपाल प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ । गत १५ गते काठमाडौंमा भएको राजावादीको प्रदर्शनमा प्रसाईँले प्रहरीलाई कुल्चने गरी अपशब्द बोल्दै गाडी कुदाएका थिए । उनलाई त्यतिबेला प्रहरीले पक्राउ गरे पनि पछि छाडेको थियो । प्रहरीले उनलाई छाडेपछि राजावादी दल राप्रपाले समेत त्यसको विरोध गरेको थियो । केही दिनअगाडि बल्खुमा भएको सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देनले प्रहरीले किन प्रसाईँलाई पक्राउ गरेर छाडेको भनेर प्रश्न गरेका थिए ।