सरकारले प्रक्षेपण गर्ने आर्थिक अवस्था र बजारको वास्तविक अवस्थामा किन सधैं भिन्नता देखिन्छ भन्ने प्रश्न लामै समयदेखि उठिरहेकै छ । तर यसले कहिल्यै जवाफ भने पाउने गरेको छैन । खासगरी उपभोक्तासँग सम्बन्धित विषयमा त बजारको अवस्था र सरकारी निकायको तथ्याङ्कमा निकै ठूलो अन्तर पर्ने गरेको देखिन्छ । यो चालुवर्षको मात्र प्रायःसधैँ यस्तै चित्र आउँछन् । यता सरकारी निकायहरूले महँगी घटेको भनेर बताइरहेका बेला उता बजारमा वस्तु तथा सेवाको मूल्य भने झन्झन् आकाशिरहेको हुन्छ । खासगरी उपभोक्ताको दैनिक उपाभोग्य वस्तुमा यस्तो भिन्नता देखिँदा सरकारी निकायहरूले दिने गरेको तथ्याङ्कप्रति नै आमतहमा विश्वास उठ्ने गरेको देखिन्छ । यसले जनअसन्तोष बढाउने काम गर्छ भन्ने कुरालाई कसैले आत्मसात गरेको पाइँदैन । आमबुझाइ के हो भने नागरिकको हरेक प्रश्नमा सरकारले जवाफ दिनुपर्छ । तर खासगरी नागरिकका आम्दानी बढेको, बजारमा महँगी घटेका र सरकारले दिने सेवासुविधामा सहजता आएको भन्ने कुराहरूमा नागरिकले महसुस गर्न पाएनन् भने सरकारी त्यस्ता दाबीहरू पत्याउनै छाडिने खतरा बढ्दैछ ।
महँगी घटेको सन्दर्भमा सबैभन्दा पछिल्लो पटक राष्ट्र बैंकको तथ्याङ्क सार्वजनिक भएको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु वर्षको यो समयमा बजारमा वस्तु तथा सेवाको मूल्य विगतका वर्षहरूको तुलनामा आधारभूतरूपले घटेको छ । तर यता आमनागरिकले बुझेको वास्तविकतामा चाहिँ बजारमा महँगी बढेको छ । त्यो उपभोग्य वस्तुमा होस् कि सेवामा वृद्धि समान नै छ । मान्छेको चुल्हो झन्झन् महँगो बन्दैछ । हालै भएका अध्ययनहरूले पनि बजारमा कुनै पनि वस्तु अघिल्लो वर्षको तुलनामा महँगिएको छ । गृहिणीहरूकै शब्दमा पनि यतिबेला कुनै पनि सामान किनिसाध्यै छैन, मूल्यले आकाश छोएको छ । तर यहीबेला नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको प्रतिवेदनले भने विगतका वर्षहरूको तुलनामा वस्तु तथा सेवाको मूल्य घटेको भनेर बताइएको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८१ फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको थियो । यसको अर्थ हो अघिल्लो वर्षको तुलनामा पूरै एकअंकले मूल्य घटेको देखिनु वा देखाउनु । यता बजारको अवस्था वा उपभोक्ताले व्यहोरिरहेका वा महसुस गरेको बजारले भने घटेको देखाउँदैन । त्यसो भए घटेको यस्तो मूल्य कता गयो भन्ने प्रश्न उठ्ने भयो नै ।
राष्ट्र बैंकका अनुसार चालु आवको फागुन महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति तीन दशमलव ३४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९७ प्रतिशत रहेको छ । निश्चय नै अघिल्लो वर्षको यही अवधिको भन्दा केही कम हो । यी दुईवस्तुमा अघिल्लो वर्ष यस्तो मुद्रास्फीति पाँच दशमलव ९५ प्रतिशत र चार दशमलव सात प्रतिशत थियो । जब महँगी घटेको कुरा उठ्छ, स्वाभाविक छ त्यसको लाभ लिने वर्ग भनेको उपभोक्ता नै हो । जसमा यस्तो रिपोर्ट तयार पार्नेहरू पनि पर्छन् । अर्थात् बजारको वास्तविक अवस्थाभन्दा बाहिर कोही पनि रहँदैन भन्ने यसको मान्यता हो । तर जब महँगी घटेको भनेर बताइन्छ । त्यसका केही उदाहरण पनि प्रस्तुत हुने गरेका भए यथार्थचित्र आउने सम्भावना बढी हुने थियो होला । प्रतिवेदन नै भन्छ यो समयमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १३ दशमलव ७४ प्रतिशत, दाल तथा गेडागुडीको सात दशमलव ८० प्रतिशत, फलफूलको छ दशमलव ८२ प्रतिशत र गैरमदिराजन्य पेयपदार्थको पाँच दशमलव १५ प्रतिशतले बढेको छ । त्यसोभए कसरी महँगी घटयो त ?