काठमाडौं । काठमाडौं युनिभर्सिटी र धुलिखेल अस्पतालबीचको विवाद समाधान गर्न डा. गीताकुमारी पौडेलको संयोजकत्वमा गठित छानबिन आयोगको बैठकमा केयूको नवनियुक्त रजिस्ट्रार प्राडा राजीव श्रेष्ठले धुलिखेल अस्पतालको प्रतिनिधिको रूपमा उपस्थित भएर मत राखेपछि उनको नैतिकतामाथि गम्भीर प्रश्न खडा भएको छ ।
पौडेलको अध्यक्षतामा भएको उक्त बैठकमा केयूका तर्फबाट डा. मनोज हुमागाईँ र प्राडा ऋषिकेश वाग्ले तथा धुलिखेल अस्पतालको तर्फबाट डा. विराज कर्माचार्य र केयूका रजिस्ट्रार समेत रहेका प्राडा राजीव श्रेष्ठले आफ्ना कुरा राखेका थिए । रजिस्ट्रार नियुक्त हुनुअघि श्रेष्ठलाई उक्त विवाद समाधान समितिमा सदस्य तोकिएको थियो । तर भागबन्डामा केयूको रजिस्ट्रार रहेको संस्थाको विरुद्ध अर्को विरोधी संस्थाको प्रतिनिधिको रूपमा उनी बैठकमा सहभागी भएपछि उनको नैतिकतामाथि प्रश्न उठेको हो ।
नैतिकताको खडेरी देखाएर बेथितिको हद पार गर्ने रजिस्ट्रार डा. श्रेष्ठले उक्त बैठकमा भाग लिनु नै हुने थिएन र भाग लिने नै हो भने रजिस्ट्रार पदबाट राजीनामा दिएर बैठकमा अस्पताल प्रतिनिधिको रूपमा सहभागी हुुनुपर्ने थियो भन्ने बुद्धिजीवी मत रहेको छ । एक कानुन व्यवसायीका अनुसार यो अनैतिक कार्य हो । यस विषयमा जिज्ञासा राख्न डा. श्रेष्ठलाई फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।