नयाँ दिल्ली, साउन १५
भारतको इन्टरग्लोब एभिएसन (इन्डिगो एयरलाइन्स)लाई चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २८ अर्ब ४४ करोड भारु खुद नोक्सानी भएको छ । भारतीय मिडियाहरुका अनुसार कोरोना महामारीले एयरलाइन्सलाई घाटा भएको हो । यो कम्पनी भारतकै सबैभन्दा ठूलो विमान सेवा कम्पनी हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब ३ करोड खुद नाफा कमाएको नवभारत टाइम्सले जनाएको छ ।
कम्पनीले सेयरबजारलाई पठाएको सूचनामा कम्पनीको पहिलो त्रैमासिक अवधिमा कुल आय ८८ प्रतिशतले घटेर ११ अर्ब ३८ करोड भारुमा झरेको छ । अघिल्लो वर्षको सोही त्रैमासिकमा कम्पनीको आय ९७ अर्ब ८६ करोड भारु थियो । कम्पनीको सञ्चालन आय पनि ९१.९ प्रतिशतले घटेर ७ अर्ब ६६ करोडमा झरेको छ । २४ मेसम्म महामारीका कारण उडान ठप्प हुँदा त्रैमासिक नतिजा प्रभावित भएको इन्डिगोले जनाएको छ । २५ मेदेखि भारतमा उडान खुले पनि अन्तर्राष्ट्रिय उडान खुलेको छैन । जुन महिनाको त्रैमासिकमा भने भाडा ११.१ प्रतिशतले बढेर ४.५३ भारु प्रतियात्रु प्रतिकिमि रहेको छ ।