काठमाडौं । बैंकिङ क्षेत्र थप सबल बनेको छ । बैंकिङ क्षेत्रलाई सबल मान्ने धेरै आधारहरूमध्ये नेपाल राष्ट्र बैंकले चुक्ता पुँजीलाई पनि एउटा प्रमुख आधार मानेको र यस्तो पुँजी प्रत्येक वर्ष बढ्दै गएको देखिनुले पनि बैंकिङ क्षेत्र थप सबल बन्दै गएको देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनाको अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्ससहितका ५४ वटा संंस्थाहरूको कुल चुक्ता पुँजी चार खर्ब ४३ अर्ब ३७ करोड १० लाख रुपैयाँ पुगेको छ । यो चुक्ता पुँजी गत आवको सोही अवधिको तुलनामा छ अर्ब ९५ करोड ९० रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी चार खर्ब ३६ अर्ब ४१ करोड २० लाख रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो आठ महिनामा वाणिज्य बैंकहरूको मात्र चुक्ता पुँजी तीन खर्ब ८५ अर्ब ३२ करोड ७० लाख रुपैयाँ पुगेको छ । यो चुक्ता पुँजी गत आवको सोही अवधिको तुलनामा छ अर्ब ३० करोड ७० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको यस्तो चुक्ता पुँजी तीन खर्ब ७९ अर्ब दुई करोड रुपैयाँ रहेको थियो । विकास बैंकहरूको चुक्ता पुँजी भने पछिल्लो अवधिमा ४२ अर्ब ७७ करोड ३० लाख रुपैयाँ पुगेको छ । यो चुक्ता पुँजी गत आवको सोही अवधिको तुलनामा ५९ करोड ८० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूको यस्तो चुक्ता पुँजी ४२ अर्ब १७ करोड ५० लाख रुपैयाँ रहेको थियो । फाइनान्स कम्पनीहरूले भने पछिल्लो अवधिमा १५ अर्ब २७ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । यो चुक्ता पुँजी गत आवको सोही अवधिको तुलनामा पाँच करोड ५० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो चुक्ता पुँजी १५ अर्ब २१ करोड ६० लाख रुपैयाँ रहेको थियो ।
बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या भने पछिल्लो अवधिमा छ हजार पाँच सय चारवटा पुगेको छ । जसमध्ये वाणिज्य बैैैंकहरूको पाँच हजार ८१, विकास बैंकहरूको एक हजार एक सय ३२ र फाइनान्स कम्पनीहरूको दुई सय ९१ वटा शाखाहरू सञ्चालनमा रहेका छन् । गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या छ हजार चार सय ६४ वटा रहेको थियो । जसमध्ये वाणिज्य बैंकहरूको पाँच हजार ४१ वटा, विकास बैंकहरूको एक हजार एक सय ३५ वटा र फाइनान्स कम्पनीहरूको दुई सय ८८ वटा शाखाहरू सञ्चालनमा रहेका थिए ।
बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेका कुल एटीएम काउन्टरको संंख्या भने पछिल्लो अवधिमा पाँच हजार दुई सय ४२ वटा पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूको चार हजार आठ सय ५७ वटा, विकास बैंकहरूको तीन सय ४४ वटा र फाइनान्स कम्पनीहरूको ४१ वटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेको रहेको राष्ट्र बैंकको भनाइ छ । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा कुल पाँच हजार ९१ वटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेका थिए । उक्त संख्यामध्येमा वाणिज्य बैंकहरूको चार हजार छ सय ९९ वटा, विकास बैंकहरूको तीन सय ४८ वटा र फाइनान्स कम्पनीहरूको ४४ वटा एटीएम काउन्टरहरू सञ्चानलनमा रहेको राष्ट्र बैंकको भनाइ छ ।