काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मान गरेको छ । महासंघले आफ्नो ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस–२०८१ को अवसरमा आयोजित कार्यक्रममा त्यस्तो सम्मान गरेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् ।
आर्थिक वर्ष २०७९/८० मा बैंक, वित्तीय संस्था र बीमा कारोबार क्षेत्रका तर्फबाट सबैभन्दा बढी कर दाखिला गरी मुलुकको अर्थतन्त्रमा नबिल बैंकले पु¥याएको योगदानको कदर गर्दै प्रमाणपत्रसहित बैंकलाई सम्मान गरिएकोे हो ।
नेपाल सरकारले पनि यस वर्षको राष्ट्रिय कर दिवसको उपलक्ष्यमा बैंक, वित्तीय संस्था र बीमा क्षेत्रका तर्फबाट आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो । नबिल बैंक यसअघि आर्थिक वर्ष २०७९/८०, आव २०६७/६८, आव २०७०/७१, आव २०७१/७२, आव २०७३/७४, आव २०७५/७६, आव २०७६/७७ र आव २०७७/७८ मा पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भइसकेको छ ।
नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिको दुई सय ६८ शाखा र तीन सय २० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोशेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।