काठमाडौं । आज वैशाख १ गते अर्थात् नेपालीको नयाँ वर्ष २०८२ साल । यही नयाँ वर्ष पारेर हामीले आजभन्दा १५ वर्षअगाडि आर्थिक दैनिकको प्रकाशन प्रारम्भ गरेका थियौँ । विभिन्न आरोह÷अवरोह पार गर्दै आज हामी १६औँ वर्षमा प्रवेश गरेका छौँ । १५ वर्ष पूरा गर्दा हामीले ४५७८ अंक आर्थिक दैनिक बजारमा पठाइसकेका छौँ । नयाँ वर्षको आगमनसँगै आज आर्थिक दैनिकको ४५७९औंँ अंक आम पाठकसमक्ष ल्याएका छौँ ।
आम नेपालीको र आर्थिक दैनिकको नयाँ वर्षको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै हामी विगतजस्तै आमपाठक, शुभचिन्तक, सहयोगी र आलोचकहरूबाट निरन्तर सहयोग, सुझाव र आलोचनाको अपेक्षा गरिरहेका छौँ । हामीले पत्रिकामा समाचार प्रकाशित गरेर पठाइरहँदा जबर्जस्ती समाचार पढाउने मात्र नभई प्रत्येक समाचारको माध्यमबाट स्वस्थ आलोचना र सुझावको समेत अपेक्षा गरेका हुन्छौँ । यसले नै हामीलाई सही मार्गमा हिँड्न सधैँ अभिप्रेरित र सहयोग गर्नेछ ।
हामी दिनको सुरुवात गर्दा सकभर आवेशमा आउने र भावनामा वहनेछैनौँ । सञ्चारमाध्यमजस्तो संवेदनशील संस्था चलाउँदा आवेशमा आउने र भावनामा वहकिने काम गरियो भने निश्चय नै हामीले आफ्नो पेसाप्रतिको जिम्मेवारी वहन गरेको हुँदैनौँ । हामी आफू दियो झैं जलेर पनि समाजलाई उज्यालो दिनुपर्छ भन्ने मान्यतामा अडिग छौँ । त्यही भएर नै सञ्चारकर्म रोजेका हौँ । आवेशमा आउने र भावनामा वहने गरी समाचार दिन थाल्यौँ भने निश्चय नै हामी हाम्रो पेसाप्रति इमानदार हुन सक्दैनौँ । तसर्थ हरेक अप्ठ्याराहरूमा पनि स्वविवेक प्रयोग गरेर मध्यमार्गी बाटो अंगाल्दै जनतालाई सही सूचना प्रदान गर्नेछौँ । समाचार दिँदा राष्ट्र, राष्ट्रियता र जनताप्रति कहिल्यै गद्दारी गर्नेछैनौँ ।
हामीले पहिलो दिन आर्थिक दैनिक प्रकाशित गर्दैगर्दा देशको आर्थिक अवस्था सबल हुने जुन अपेक्षा गरेका थियौँ, त्यो पूरा हुनसकेको छैन । बितेका १५ वर्षमा अर्थतन्त्रले गति नै लिनसकेको छैन । हाम्रो देशको पुँजीगत खर्चको अंक र त्यसको प्रतिशतले आर्थिक अवस्थामा सुधार नआएको प्रस्ट्याउँछ । हाम्रो राजनीतिक नेतृत्वले देशलाई निरंकुश शासनबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्था अर्थात् अग्रगमनतर्फ लैजाँदा जेल, नेल सबै भोगेको जगजाहेर छ । त्यसमा दुईमत छैन । तर, देशलाई आर्थिक रुपमा सबल बनाउने काममा उनीहरू निश्चय नै चुकेका छन् ।
आर्थिक रुपमा सक्षम हुन नसक्दा आलोचनाका स्वरहरू थपिन थालेका छन् । यद्यपि विकास र आर्थिक उन्नतिका लागि पश्चगमन कहिल्यै स्वीकार्य हुन सक्दैन । नयाँ वर्षको दिनसँगै राजनीतिक नेतृत्वमा देशलाई समृद्धितर्फ लैजाने चेत आओस्, जसले एउटा सञ्चारकर्म मात्र नभई सबै उद्योग÷व्यवसाय त फस्टाउनेछ नै, प्रत्येक नेपालीको जीवनस्तर पनि सुध्रिनेछ । प्रगति र उन्नतिको बाधक नै विकृति र विसङ्गति हो । त्यसविरुद्ध हामी आम नागरिकसँगै हुनेछौँ । नागरिकका आवाज नै हाम्रो आवाज हो । नयाँ वर्ष २०८२ को अवसरमा सबैमा हार्दिक शुभकामना !