काठमाडौ । दोस्रो नेसनल हर्टिकल्चर एक्स्पो २०८१ मा एक करोड २५ लाखभन्दा बढीको कारोबार भएको छ । नर्सरी व्यवसायी संघ नेपालले बिहीबारबाट आइतबारसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको एक्स्पोमा सो कारोबार भएको हो ।
नर्सरी व्यवसायी संघ नेपालका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविनकुमार गौतमले एक्स्पो सोचेभन्दा धेरै उपलब्धिमूलक भएको बताए । सबै थरीका बोटबिरुवा, कृषि औजार, मल खाद्यान्न, परामर्श एकैठाउँमा भएकाले मेलाप्रति सबैको आकर्षण रहेको उनले जानकारी दिए । नर्सरी व्यवसायीहरूले आफ्ना उत्पादनहरू प्रदर्शन गर्न पाउने र बोटबिरुवाका शौखिन उपभोक्ताहरूका लागि मेलाले महत्वपूर्ण भूमिका खेल्ने संघका अध्यक्ष राम्जीप्रसाद तिमिल्सिनाले बताए । एक्स्पोमा कृषि वन जडीबुटी फलफूल सबै खालका प्रदर्शनी भएकाले पनि मेलामा अवलोकन गर्नेको संख्या वृद्धि हुँदै गएकाले आगामी दिनमा पनि एक्स्पोको आयोजना गरिररहने बताए ।
चार दिनसम्म चलेको मेलाको ५० हजारभन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गरेको आयोजक संघले बताएको छ । आफूले उत्पादन र बिक्री वितरण गरिरहेको बोटबिरुवाहरू प्रदर्शनीमा राख्दा उपभोक्ताहरू खोजीखोजी स्टलमा आएर अवलोकन गरी खरिद गर्दा खुसी लागेको नर्सरी व्यवसायीहरूले बताए । एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडिबुटी नर्सरीको सात सयभन्दा बढी प्रजातिका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिएको थियो । मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बीउविजन, गमला, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल राखिएको मेलामा ७४ वटा व्यवसायीको स्टल, तीन वटा फुडस्टल, सात वटा अफिसियल स्टल तथा प्रतिष्पर्धाको पाँच वटा स्टल रहेको थियो ।
मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ र विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रतिव्यक्ति ५० रुपैयाँ राखिएको थियो । पुष्प विकास केन्द्र, वनस्पति विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, पुल्चोक, कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेश दोस्रो हर्टिकल्चर एक्स्पोको सह आयोजक रहेका थिए । नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार भन्ने नारा लिएर नर्सरी व्यवसायी संघ नेपालले दोस्रो हर्टिकल्चर एक्सपोसँगै तिहार फ्लोरा एक्स्पोसहित चारवटा मेला सम्पन्न गरिसकेको जनाएको छ ।