कोलम्बो । श्रीलड्ढाको केन्द्रीय बैंकद्वारा सार्वजनिक गरिएको पछिल्लो तथ्याड्ढअनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा पर्यटन तथा वैदेशिक रेमिट्यान्स आम्दानीमा सकारात्मक वृद्धि भएको छ । यी दुई क्षेत्रहरू मुलुकका प्रमुख वैदेशिक मुद्रा आर्जन गर्ने स्रोतहरू हुन् ।
जनवरीदेखि मार्च सन् २०२५ सम्म, वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स १.८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ, जुन सन् २०२४ को सोही अवधिको करिब एक दशमलव पाँच अर्ब डलरसँग तुलना गर्दा उल्लेखनीय वृद्धि हो ।
सन् २०२४ को सम्पूर्ण अवधिमा श्रीलड्ढाले छ दशमलव ५७ अर्ब अमेरिकी डलरभन्दा बढी रेमिट्यान्स प्राप्त गरेको छ, जसमा अघिल्लो वर्षको तुलनामा १० दशमलव एक प्रतिशत वृद्धि देखिएको छ । यसैगरी, सन् २०२५ को पहिलो त्रैमासिकमा पर्यटनबाट प्राप्त आम्दानी एक दशमलव एक अर्ब अमेरिकी डलरभन्दा बढी रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा नौ दशमलव चार प्रतिशतले वृद्धि भएको हो । त्यस्तै, सो अवधिमा श्रीलड्ढामा आगमन भएका पर्यटकहरूको संख्या सात लाख २२ हजार नाघेको छ, जसमा अघिल्लो वर्षको तुलनामा १३ दशमलव छ प्रतिशत वृद्धि देखिएको छ ।