काठमाडौं । आर्थिक दैनिकले २०८१ साल साउन २७ गतेको अङ्कमा डा. केदार नरसिंह केसीले बच्चा गाड्ने सार्वजनिक जमिन कब्जा गरेको समाचार छापेको थियो । त्यो समाचार छापेपछि नेपाली कांग्रेसको नाममा आफ्नो गुजारा चलाउँदै आएका व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरेर ‘पीत पत्रकारिता’ गरेको आरोप मात्र लगाएनन् कि तथानाम गाली गरे । किनकि सार्वजनिक जग्गा कब्जा गरेर घर बनाउने डा. केसी नेपाली कांग्रेससँग सम्बद्ध थिए ।
कांग्रेसमा उनको पारिवारिक दादागिरी चल्दै आएको छ । उनका दाइ जसलाई ‘ठुल्दाइ’ पनि भन्छन् । अर्जुन नरसिंह केसी पूर्वमन्त्री र हालका सांसद हुन् । हुन त उनी २०४६ सालमा नुवाकोटको जिल्ला पञ्चायत सभापति थिए । जनआन्दोलन प्रतिकार समितिको संयोजक पनि थिए । पञ्चायतको पतनपछि गठित पूर्वपञ्चहरूको राप्रपाको संस्थापक प्रवक्ता पनि थिए । तर त्यता छाडेर कांग्रेस प्रवेश गरेपछि भाइमध्येका एक भाइबाहेक सबै कांग्रेसतिरै छन् । तीमध्ये डा. केसीले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीतिर चिहाउन थालेका थिए । नुवाकोटलाई पुख्र्यौली बिर्ताजस्तै ठान्ने केसी परिवारका यी डा. केदार नरसिंह केही समय जागीरको त्यहाँ बस्दा रसुवालाई आफ्नो चुनावी क्षेत्र बनाउन पनि खोजेका थिए तर त्यो प्रयास असफल भएपछि उनले काठमाडौं ६ लाई आँखा लगाउन थालेका थिए ।
उनले अहिले काठमाडौंको बसुन्धरामा बीपी स्मृति मेमोरियल अस्पताल सञ्चालन गरेर व्यापार गरिरहेका छन् । उनका भतिजीज्वाइँ गगन थापा कांग्रेसको महामन्त्री छन् र उनी आफू जहाँ उभियो त्यहीँबाट लाइन सुरु हुने ठान्छन् । यस्तो पहुँचदार कांग्रेसी पेरिफेरिका डा. केसीले चाहिँ मुलुकमा प्रजातन्त्र आएपछि पार्टीमा सुकिलामुकिला हावी हुनेछन् र सच्चा प्रजातन्त्रवादी कार्यकर्ताले फेरि उनीहरूको विरुद्ध संघर्ष गर्नुपर्ने हुन्छ भन्ने भनाइलाई चरितार्थ गर्दै आएका छन् । यही कारण उक्त समाचारका विरुद्ध केसी परिवारले संगठितरूपमा सामाजिक सञ्जालमा विषवमन भएको थियो, उनीहरूका लाउके, चम्चे र चाटुकारहरूले तथानाम गाली गरेका थिए । तर समाजमा जान्नेबुझ्नेहरूले उनीहरूको क्रियाकलाप देखेर कुरीकुरी गरिरहेका थिए । लाजघिन पचेका हुनाले डा. केसीहरूले त्यसलाई देखेको नदेख्यै गरे, सुनेको नसुन्यै गरे, चम्चाहरूको आवाज सुनेर रमाइरहे । दिन बित्दै गयो, समाजमा अपराध गर्नेले शिर ठाडो पारेर हप्किरप्की गर्दै हिँडिरहयो । त्यसो गर्नु हुँदैन भनेर विरोध गर्नेचाहिँ खुम्चिएर, शिर निहुराएर हिँड्नुपर्ने अवस्था आइपुर्यो । तर भित्रभित्रै भुसको आगोजस्तो सल्किरहेको थियो ।
आर्थिक दैनिकले साउन २७ गते छापेको समाचारको विषयवस्तुले सात महिनापछि संसद्मा प्रवेश पायो । फागुन २८ गते प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांससद्वय सुमना श्रेष्ठ र शिशिर खनालले कांग्रेसी नेताले बच्चा गाड्ने चिहान कब्जा गरेर आफ्नो बनाएका कुरा उठाए । उक्त समाचार छाप्दा आर्थिक दैनिकविरुद्ध केसी परिवारका आसेपासे, तमासे, चम्चे पाल्तुहरूले जसरी विषवमन गरेका थिए, संसद्मा पनि ती दुई सांसदविरुद्ध त्यसैगरी भम्टिए । कांग्रेसका सांसदहरू राजेन्द्र केसी, डा. प्रकाशशरण महत, राजेन्द्र बजगाईँ, सुशीला थिङलगायतले कुरै नबुझी सुमना र शिशिरको अभिव्यक्तिको विरोध गरे । पार्टीमा केसी परिवारको दबदबा छ । त्यही भएर चाकडी पुर्याउन उनीहरूले विरोध गरे । होइन भने केसीले सार्वजनिक जग्गा मिचेर घर बनाएको कुरा संसद्मा कांग्रेसी सांसदहरूले नै उठाउनुपर्थ्यो । लोभीपापीका सञ्जालमा यस्तै भयो, उनीहरूले कुरा उठाएनन् तर कुन मुखले प्रतिकार गरेको ? किन प्रतिकार गरेको ? लाजघिन पचेपछि मानिसले जे गरे पनि हुन्छ भनेको यही हो । मानिस नैतिकरूपमा पतन भएपछि सक्किगयो नि !
संसद्मा कुरो उठेपछि त्यहाँ मात्र प्रतिकार भएन, सामाजिक सञ्जालको पनि केसी पक्षले उत्तिकै दुरुपयोग गर्यो तर केसीको कुकृत्यविरुद्ध आर्थिक दैनिकको समाचारको कटिङ राखेर जनस्तरबाट व्यापक प्रचारबाजी भयो तर पनि केसी परिवारले चेतेन । २०८१ चैत २ गते डा. केदारनरसिंह केसीले मरेका बच्चा गाड्ने ठाउँको जमिन हडपेर बनाइएको आफ्नै घर कम्पाउन्डमा पत्रकार सम्मेलन आयोजना गरे । उक्त सम्मेलनमा कांग्रेसका नेता समेत रहेका उनका भाइ जगदीश नरसिंह केसी पनि सहभागी थिए । तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, श्याम खड्गी, १० नम्बरका असम्बन्धित वडा अध्यक्ष कुमार राई, इन्द्रमान महर्जन, स्वघोषित विज्ञ साइँला महर्जनलाई सँगै राखेर केसीले पत्रकार सम्मेलन गरे । तर उनीबाहेक कसैले पनि त्यो जमिन सार्वजनिक होइन भन्न सकेनन् । मरेको बच्चा गाड्ने गरिन्थ्यो भन्ने सुनेको भन्न भुलेनन् । डा. केसी आफैँले त्यहाँबाट बाटो खोल्दा आफ्नो जग्गा मिचिएपछि मालपोत कार्यालयले आफ्नो मिचिएको जमिनजतिको जमिन सार्वजनिक जमिनबाट सट्टा गर्न दिएको कुरा बताएका थिए । त्यत्रो पत्रकार सम्मेलन गर्दा सो जमिन रहेको तारकेश्वर ९ का वडा अध्यक्षलाई चाहिँ निम्त्याइएको थिएन । तर सहभागीहरूलाई स्वादिष्ट खानपानको व्यवस्था गरिएको थियो । त्यो पत्रकार सम्मेलन पनि एउटा षड्यन्त्रको कडी थियो भन्ने कुरा अब कसैबाट छिपेन । मलाई त्यो सट्टाभर्ना लिएका जमिन चाहिएन भनेर डा. केसीले भनेपछि चैत ४ गते मिचिएको सार्वजनिक जग्गा छुट्याएर नगरपालिकाले किला गाढेर तारबार लगाएको छ । तर उक्त जग्गाको मालपोत र नापीका श्रेस्तामा कट्टा गरिएको छैन । मेयर महर्जनसँगको केसीको सहमतिमा अहिले उठेको विवादलाई सामसुम पार्न र जनताका आँखामा छारो हाल्न त्यो तारबार लगाइए पनि कानुनीरूपमा जग्गा छुट्याइएको अवस्था छैन । पहिला पनि केसी परिवारले यसैगरी जनता झुक्याउन जुक्ति निकालेर मरेको बच्चा गाड्ने गरिएको सार्वजनिक जमिन आफ्नो बनाएको थियो । वडा कार्यालयको सिफारिसमा मालपोत र नापीको उक्त जग्गा केसीको नाममा राखेको थियो र त्यसमा पनि विवाद आउने भएपछि एउटा लोभीपापी मात्र छानेर इन्द्रमान महर्जनको संयोजकत्वमा एउटा छानबिन समिति बनाई उक्त कुकृत्यलाई सही र जायज भनी सिफारिस गर्न लगाइएको थियो । उक्त कुकृत्यमा सहभागी सबै चपरासी र शिखण्डीहरूले आर्थिक दैनिकको समाचारलाई सामाजिक सञ्जालमा आलोचना गर्दै पीत पत्रकारिकता भनेर विषवमन गरेका थिए र सांसदद्वय सुमना र शिशिरका सत्तोसराप गरेका थिए । यहाँसम्म कि ती सांसदले कुरै नबुझेको जनप्रतिनिधिसँग छलफल नै नगरी मनपरी बोलेको भनी मानौँ उनीहरूसँग नसोधी संसद्मा बोल्नै नहुनेजस्तो पनि गरियो । झुटो कुरा गरेर समाजलाई हल्लाउन खोज्ने झुटको साम्राज्य खडा गर्न खोज्दा लाज लाग्नुपर्ने हो । तर डा. केसीमा त्यस्तो देखिएन । मेयर महर्जनसँग मिलेर जालसाजी गर्दा लाज लाग्नुपर्ने हो । यो घटनामा सुरुदेखि अहिलेसम्म एकपछि अर्को झुट मात्रै भएको छ । यसरी शक्ति हुनेले जे पनि गर्दा हुन्छ भन्ने मानिसिकता बेलैमा त्याग्दा हुन्छ । अन्यथा जनता जागेका दिन टर्चलाइट बालेर खोज्नुपर्ने हुन्छ । समाज उदार र सहिष्णु मात्र होइन निर्मम पनि हुन सक्छ भन्ने कुरा बुझ्नुपर्दछ । जनताले अहिले त डा. केसीलाई कुरीकुरी मात्रै भनेका छन् । योभन्दा अघि बढेमा चुरीफुरी सक्किन बेर लाग्दैन ।