वीरगञ्ज (पर्सा) । हनुमान जयन्तीका अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न विषम परिस्थितिका कारण नयाँ वर्ष वीरगञ्जमा प्रभावित भएको छ । गत चैत ३० गते हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा दुई समूहबीचको झडपपछि नियन्त्रणका लागि लगाइएको निषेधआज्ञा (कर्फ्यु)आदेशको कारणले वीरगञ्जवासीको नयाँ वर्ष अन्य वर्षको जस्तै मनाउन पाएनन् ।
नयाँ वर्ष लक्षित गरेर वीरगञ्ज महानगरले आयोजना गरेको रात्रि बजार पनि निषेधाज्ञाको कारणले शनिबार र आइतबार दुई दिन सञ्चालन नपाएपछि स्थगित गरिएको छ । होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले वीरगञ्जमा उत्पन्न भएको विषम परिस्थितिको कारणले ‘बुकिङ’ भएका होटल पनि धमाधम खाली भएको जानकारी दिए । ‘नयाँ वर्ष मनाउन आएका भारतीय पाहुना पनि निषेधआज्ञाको कारणले होटल छाडेर फर्किनुभएको छ,’ उनले भने, ‘नयाँ वर्ष मनाउन आएका पाहुनापछि एकाएक छाडेर जाँदा यहाँको पर्यटन व्यवसायी झनै धरासायी हुने अवस्थामा पुगेको छ ।’ अध्यक्ष पन्तका अनुसार नेपाली नयाँ वर्षको ‘इभ’ तथा नयाँ वर्षको दिन वीरगञ्जका होटल भारतीय पाहुना तथा स्वदेशी पर्यटकले भरिभराउ हुने गर्थ्यो । तर, अहिले भने निषेधआज्ञा आदेशको कारणले कोही पनि व्यक्ति घरबाट निस्किन पाएनन् ।
नयाँ वर्षको पूर्वसन्ध्यामा चैत ३० गते बेलुका ६.३० बजेदेखि चैत ३१ गते रातको १२ बजेसम्म निरन्तर रुपमा निषेधआज्ञा जारी भएको थियो । उनले नयाँ वर्षको पूर्वसन्ध्यामा वीरगञ्जका होटल ५५ प्रतिशत ‘अंकुपेन्सी’ भएको भए पनि अहिले पहुना होटल खाली गरेर छाडेर गएको दाबी गरे । वीरगञ्जमा भारतीय तथा अन्य मुलुकका पर्यटकलाई लक्षित गरेर क्यासिनोसहितका सुविधासम्पन्न तारे होटल पनि सञ्चालनमा रहेका छन् । वीरगञ्जका तारे होटलमा दियालो लडर्स प्लाजा, भिष्वा, क्लार्क रिसोर्ट, सुरज होटललगायतका रहेका छन् । वीरगञ्ज बजार क्षेत्रमा मात्रै साना ठूला गरेर ८५ भन्दा धेरै होटल तथा लज रहेका छन् । ‘बन्द हड्तालको कारणले होटल मात्रै नभएर सबै खालका व्यापार व्यवसायमा प्रत्यक्ष असर पार्दै आइरहेका छन्,’ उनले भने, ‘बन्द, हड्ताल, निषेधाज्ञालगायतका गतिविधि सधैंका लागि बन्द गर्नुपर्नेमा यस्तो गतिविधि हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित हुने गरेको छ ।’
एकातर्फ व्यापारिक तथा औद्योगिक सहरको छाया र अर्काेतर्फ पर्यटकीय गन्तव्यको प्रचारप्रसारको कमीको कारणले पनि वीरगञ्जमा अपेक्षाकृत पर्यटक भित्रिन सकिरहेका छैनन् । सीमावर्ती रक्सौल नाका हुँदै मासिक हजारौँको संख्यामा भारतीय पर्यटक नेपाल आइरहेका हुन्छन् । आकर्षक गन्तव्यको अभावमा भारतीय पर्यटकलाई वीरगञ्ज आसपासको क्षेत्रमा रोक्न सकिएको छैन । यसले गर्दा यहाँको पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्दै आइरहेको छ । भारतको रक्सौल नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकले वीरगञ्जलाई केबल बाटोका रूपमा मात्रै प्रयोग गर्दै आइरहेका छन् । जसका कारणले वीरगञ्जको पर्यटन क्षेत्रले त्यसको लाभ उठाउन सकिरहेका छैनन् । त्यही समस्यालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकलाई कम्तीमा पनि दुई रात पर्सा आसपासकै क्षेत्रमा बसोबास गर्ने वातावरण सिर्जना गर्नेतर्फ ध्यान दिइरहेको जनाएको छ । वीरगञ्जमा करिब १० अर्बभन्दा धेरै लागतमा तारे तथा अन्य होटल सञ्चालनमा रहेका छन् ।