काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई मध्यनजर गर्दै बैंकले यहि वैशाख १ गतेदेखि वैशाख ३१ गते सम्म एक महिनाको लागि लागू हुने गरी विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याकलगायतका योजनाहरू सार्वजनिक गरेको हो । सो योजनाअन्तर्गत डेबिट कार्ड प्रयोगकर्ताहरूले पहिलोपटक पस मेसिन वा अनलाइनमार्फत एक हजार वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढीमा एक सय ८० प्रतिशतसम्म क्यास ब्याक दिइने छ । यसैगरी सिटिजन्स मोबाइल बैंकिङमार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरूका लागि पनि पाँच सय वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढीमा एक सय ८० क्यास ब्याक प्रदान गरिने छ । साथै, फोन पे मर्चेन्टले आफ्नो व्यावसायिक कारोबार रकम क्युआरमार्फत प्राप्त गर्दा प्रत्येक दिन एक जना मर्चेन्टलाई एक हजार आठ सय रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने छ । साथै, बैंकले योजना अवधिभरमा इ–कम कार्ड लिई पहिलो पटक टपअप गर्दा सो टपअपमा शुल्क नलाग्ने, निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था, स्मार्ट बचत खाता खोली पहिलो पटक मोबाइल बैंकिङमार्फत मोबाइलमा रिचार्ज गर्दा १५ प्रतिशत वा बढीमा ५० रुपैयाँसम्म क्यासब्याक उपलब्ध हुनेछ । साथै, बैंकको एक मोबाइल बैंकिङ ग्राहकलाई निःशुल्क माउन्टेन फ्लाइट टिकट प्राप्त हुनेछ ।
वार्षिकोत्सवकै उपलक्ष्यमा वैशाख महिनाभर भर्चुअल क्रेडिट कार्ड जारी गर्दा पहिलो वर्षको जारी शुल्कमा पनि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । डिजिटल कारोबारमा प्रदान गरिने यस्ता आकर्षक छुट योजनाहरूले आम सर्वसाधारणहरू नगदरहित कारोबारमा अभ्यस्त हुने र समग्र डिजिटल बैंकिङलाई बढवा मिल्ने विश्वास बैंकले लिएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ । बैंकले देशैभर ६१ जिल्लामा फैलिएका आफ्ना दुई सय वटा शाखा, एक सय ६८ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।