काठमाडौं । नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इ–सेवा र नेपाल एसबीआई बैंकबीच विद्युतीय कारोबारसम्बन्धी साझेदारी भएको छ । यस साझेदारीपश्चात अब इ–सेवा प्रयोगकर्ता तथा नेपाल एसबीआई बैंकका ग्राहकले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्ने छन् ।
दुवै संस्थाका ग्राहकलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यका साथ गएको हप्ता एउटा औपचारिक कार्यक्रमका बीच दुवै संस्थाका प्रतिनिधिहरूले सम्झौतापत्रमा हस्ताक्षर गरी यस सेवाको प्रारम्भ गरेका हुन् । यस साझेदारीपश्चात् अब नेपाल एसबीआई बैंकको ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी सिधै इ–सेवा वालेटमा रकम लोड गर्न सक्नेछन् भने इ–सेवा प्रयोगकर्ताहरूले आफ्नो इ–सेवा वालेटमा भएको रकम नेपाल एसबीआई बैंकको खातामा ट्रान्सफर गर्न सक्नेछन् ।
यसै साथ अब इ–सेवामा आबद्ध बैंक तथा वित्तीय संस्थाको संख्या ५१ पुगेको छ । नेपाल एसबीआई बैंक पनि इ–सेवामा आबद्ध भएपश्चात नेपालको डिजिटल वित्तीय सेवामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । इ–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इ–सेवा र नेपाल एसबीआई बैंकबीच भएको यस सम्झौताप्रति खुसी व्यक्त गर्दै, यस सहकार्यले दुवै संस्थाबीच हुने रकम ट्रान्सफरको अनुभवलाई सहजता र सरलता प्रदान गर्ने विषयमा जोड दिएका छन् । साथै, यस सम्झौताले ग्राहकहरूको अमूल्य समय बचाउने र डिजिटल कारोबारलाई थप सुरक्षित र प्रभावकारी बनाउने कुरा समेत उनले उल्लेख गरेका छन् । खड्काले आउने दिनमा ग्राहकहरूको हित तथा सहजताका लागि आवश्यकताअनुसार थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।
नेपालको पहिलो डिजिटल भुक्तानी सेवा प्रदायकको रूपमा सन् २००९ मा इ–सेवा लिमिटेड स्थापना भएको हो । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको इ–सेवा लिमिटेड सहरी केन्द्रमा मात्र सीमित नभएर हाल उपत्यकाबाहिर पनि आठ वटा शाखा कार्यालयहरू र तीन वटा सम्पर्क कार्यालयहरू स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ । मोबाइल टपअपबाट सेवा सुरु गरेको इ–सेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लुबुक नवीकरण, इन्स्योरेन्सलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी, ईजी लोन, इस्पिकर, मर्चेन्ट लिङ्क सुविधा दिँदै आएको छ ।