काठमाडौं । स्वनिगः रिसोर्ट प्रालिले भक्तपुरको सूर्यविनायक नगरपालिकामा अत्याधुनिक पाँचतारे होटल सञ्चालनमा ल्याउने भएको छ ।
कम्पनीले नयाँ वर्ष २०८२ को अवसर पारेर सोमबार भक्तपुरको गुण्डुस्थित आफ्नो जमिनमा अत्याधुनिक पाँचतारे होटलसहितको परियोजना निर्माणका लागि स्थानीय समुदायका अगुवाहरूको सहभागितामा भूमिपूजन कार्यक्रम आयोजना गरेको छ । कम्पनीको यो परियोजनामा एउटा अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल, टाइम–सेयर मोडेलका भिल्ला तथा विभिन्न मनोरञ्जन केन्द्रहरू समावेश हुनेछन् । उक्त प्रोपटी नयाँ नेपाली ब्रान्ड ‘स्वनिगः’अन्तर्गत सञ्चालन हुनेछ । स्वनिगः नेवारी शब्द हो, जसको अर्थ काठमाडौं (येँ), ललितपुर (यलाः) र भक्तपुर (ख्वपः) समेटिएको काठमाडौंं उपत्यका हो । स्वनिगः उक्त परियोजनाको लागि उपयुक्त नाम हो, यसले यी सहरहरूमा सहअस्तित्वमा रहेको स्थापत्य (पर्फर्मिङ आर्ट) कला, परम्परागत हस्तकला, खाद्य संस्कृति र इतिहासजस्ता अमूर्त सांस्कृतिक सम्पदासहित परम्परागत संरचनालाई पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ ।
प्रस्तावित प्रोपर्टी निर्माणस्थल सुन्दर हिमशृङ्खला देखिने घना जंगलले घेरिएको पहाडी थुम्कोमा रहेको छ, जुन ‘सुतिरहेका बुद्ध शाक्यमुनि’को अगाडिपट्टि रहेजस्तो देखिन्छ । यहाँबाट उपत्यकाका प्राचीन तीन सहर येँ, यलः र ख्वपःका विहंगम दृश्य देखिन्छ । यो महत्वाकांक्षी परियोजना नेपाली संस्कृति, सम्पदा र संगीतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पारखी र प्रकृतिप्रेमीका लागि उत्कृष्ट गन्तव्य हुनेछ । यो गन्तव्यले स्थानीय समुदायको उत्थान गर्दै नेपाली र स्थानीय सम्पदाको प्रवर्द्धन गर्ने लक्ष्य राख्नेछ । यो परियोजनालाई नेपाली तथा विदेशी पाहुनाका निम्ति बिलासी पर्यटकीय गन्तव्य र गुणस्तरीय तथा स्वस्थ जीवनशैलीमा जोड दिने परिपूर्ण वेलनेस सेन्टरका रूपमा विकास गरिनेछ ।
चार अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी रहने अनुमान गरिएको यो परियोजनामा टाइम–सेयर मोडलका ६० वटा भिल्ला रिसोर्ट र एउटा अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल रहनेछ । यो परियोजना सन् २०२७ को नोभेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएको छ । यो सम्पत्ति माइस (मिटिङ, इन्सेन्टिभ, कन्फेरेन्स, एक्जिबिसन), इभेन्ट, अन्तर्राष्ट्रिय सेमिनार, डेस्टिनेसन वेडिङ हब (वैवाहिक कार्यक्रमको गन्तव्य), लाइभ संगीत प्रदर्शनस्थल, एम्फिथिएटर (कला, संस्कृति र संगीतको जीवन्त प्रदर्शन), योग, ध्यान, आध्यात्मिक साधना र रक क्लाइम्बिङ, हाइकिङ, साइक्लिङजस्ता खेलकुद गतिविधिहरूमा विशेष जोड दिँदै खानपान र स्वास्थ्य तथा मनोरञ्जनका लागि उत्कृष्ट गन्तव्यको रूपमा विकास हुनेछ ।
पाइलट बाबाको आशीर्वादले यो परियोजनाले पाइलट बाबा आश्रमलाई यो गन्तव्य परियोजनाको एक अनिवार्य अंगको रूपमा समेट्ने सौभाग्य प्राप्त गरेको कम्पनीले जनाएको छ । यसले विश्राम, आध्यात्मिकता, कला/संस्कृति, खेलकुद र लाइफस्टाइल अतिथि सत्कारको अद्वितीय समिश्रण प्रस्तुत गर्नेछ । यो परियोजना इम्प्लिमेन्टिङ एक्सपर्टस ग्रुप (आईईजी)ले एस एन्ड जेजी होल्डिङ्स (अस्ट्रेलिया)सँगको संयुक्त उपक्रममा सञ्चालन गरिरहेको छ । आईईजीको प्रतिनिधित्व अमृतरत्न शाक्य र सुवर्णकृष्ण श्रेष्ठले गरिरहेका छन्, जसले ५० वर्षदेखि मन्दिर, सत्तलजस्ता विशाल संरचनाहरूको निर्माण गर्दै अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा प्रशंसा र पुरस्कार जितेका छन् । उनीहरू समिट होटल, एयरपोर्ट होटल र निर्माणाधीन ओएसिस होटलमा लगानी गरेर अतिथि सत्कार परियोजनाहरूमा पनि संलग्न छन् ।
अस्ट्रेलियाको एस एन्ड जेजी इन्भेस्टमेन्ट्स प्रालि प्रत्यक्ष विदेशी लगानी (एफडीआई) कम्पनी हो । यसमा विश्वव्यापीरूपमा शिक्षा, अतिथि सत्कार तथा रियल स्टेट क्षेत्रमा सक्रिय अगुवा गैरआवासीय नेपाली (एनआरएन) मध्येमा पर्ने शेष घले र जमुना घले गुरुङको स्वामित्व छ । एस एन्ड जेजीले आफ्नो सहायक कम्पनी एमआईटी ग्रुप होल्डिङ्समार्फत यसअघि नै काठमाडौंको मुटु कान्तिपथमा एउटा पाँचतारे होटल निर्माण गरिसकेको छ । उक्त बिलासी पाँचतारे होटल यसै वर्षको अन्त्यतिर सञ्चालनमा आउने र अतिथि सत्कार क्षेत्रमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको परियोजना बन्ने अपेक्षा गरिएको छ । एस एन्ड जेजीले काठमाडौं बाहिर पनि अन्य पर्यटनसम्बद्ध व्यावसायिक अवसरहरूको सक्रियतापूर्वक अन्वेषण गरिरहेको छ । साथै ऊर्जा क्षेत्रमा पनि हात हाल्ने यसको लक्ष्य छ ।