लक्जेम्वर्ग । युरोपेली संघले सोमबार प्यालेस्टिनी जनतालाई सहयोग गर्न एक अर्ब ६० करोड युरोबराबरको नयाँ आर्थिक सहायता घोषणा गरेको छ । यो सहयोग तीन वर्षको अवधिमा दिइनेछ । यो घोषणा प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफा र युरोपेली विदेश मन्त्रीहरूबीचको बैठकको अघिल्लो दिन गरिएको हो ।
‘हामी प्यालेस्टिनी जनताको साथमा छौँ । यो सहयोगले सन् २०२७ सम्म पश्चिमी किनारा र गाजाको अवस्थासुधार गर्न मद्दत गर्नेछ’, युरोपेली संघको विदेश नीति प्रमुख काया कालासले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
गाजामा युद्ध फेरि सुरु भएपछि युरोपेली संघले प्यालेस्टिनी प्रशासनलाई सहयोग बढाउने निर्णय गरेको हो । यस सहयोगअन्तर्गत, प्यालेस्टिनी प्रशासनलाई सिधै ६२ करोड युरोबराबरको अनुदान दिइनेछ । यो सहयोगले शासन प्रणाली सुधार, आर्थिक विकास, पूर्वाधार निर्माणजस्ता काममा सहयोग पुर्याउनेछ ।
अर्कोतर्फ, ४० करोड युरोबराबरको ऋण पनि युरोपेली लगानी बैंकमार्फत उपलब्ध गराइनेछ । यो नयाँ सहयोग अघिल्लो सन् २०२१ देखि २०२४ सम्मको एक अर्ब ३६ करोड युरोबराबरको सहयोग योजनाको निरन्तरता हो ।