काठमाडौँ । वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले मंगलबार यहाँ आयोजना गरेको ३०औँ वन्यजन्तु सप्ताह कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकभरका संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धन गरी जनताको जीविकोपार्जनसँग जोड्नुपर्ने बताएका छन् ।
उनले संरक्षण क्षेत्रले अब आफैँ राजस्व सङ्कलन गरी आयआर्जन वृद्धि गर्नुपर्नेमा जोड दिए । मन्त्री शाहीले भने, “पछिल्लो समय वन्यजन्तुको वृद्धिसँगै मानव–वन्यजन्तु द्वन्द्व र व्यवस्थापनको चुनौती बढेको छ । यसलाई व्यवस्थापन गरी न्यूनीकरण गर्न वन मन्त्रालयसँगै अन्य निकाय र सरोकारवाला सबैको सहयोगको अपेक्षा गर्दछौँ ।”
कार्यक्रममा वन मन्त्रालयका सचिव डा दीपककुमार खरालले विभागले संरक्षणको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै अब मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा काम गर्नुपर्ने बताए । साथै उनले स्थानीय समुदायमा संरक्षणप्रति अपनत्वका साथ बुझाइमा एकरुपता ल्याउनुपर्ने सुझाए ।
वन्यजन्तुको सङ्ख्या वृद्धिसँगै प्राप्त उपलब्धिलाई जोगाउन चुनौतीको सामना गर्नका लागि सबै लाग्नुपर्नेमा जोड दिदै विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले सप्ताह कार्यक्रमले संरक्षणका लागि जनचेतना फैलाउन ठूलो योगदान पुग्ने उल्लेख गरे ।
कार्यक्रममा विभागका उपमहानिर्देशक वेदकुमार ढकाल, विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य, वन प्राविधिक सङ्घका अध्यक्ष डा राकेश कर्ण, राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा. चिरिञ्जीवीप्रसाद पोखरेल, वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक अजितकुमार कर्ण, जियोलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालका डा. दिनेश न्यौपानेलगायतले मानव–वन्यजन्तु द्वन्द्व संरक्षणका लागि चुनौती बनेको उल्लेख गर्दै समाधानमा सबै लाग्नुपर्नेमा जोड दिए ।