काठमाडौं । नेपाल राष्ट्र बैंकको आम्दानीसँगै कुल सम्पत्ति समेत बढेको छ । राष्ट्र बैंकको २०८१ असारसम्म कुल सम्पत्ति २० खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल सम्पत्ति ३० दशमलव १६ प्रतिशतको वृद्धिदर हो । राष्ट्र बैंकको २०८० असारसम्म कुल सम्पत्ति १५ खर्ब ८८ अर्ब रहेको थियो ।
राष्ट्र बैंकका अधिकारीहरूका अनुसार राष्ट्र बैंकको कुल सम्पत्तिमा ४७ दशमलव ६४ प्रतिशतको समेत वृद्धिदर देखिँदा कुल सम्पत्ति बढी हुनपुगेको हो । २०७७ असारसम्म १४ खर्ब कुल सम्पत्ति रहेको राष्ट्र बैंकको हाल आएर उक्त मात्रामा कुल सम्पत्ति पुगेको हो । राष्ट्र बैंकको पछिल्लो पाँच वर्षमा चार वर्ष कुल सम्पत्ति वृद्धिदर धनात्मक हुँदा एक वर्ष ऋणत्मक रहेको हो ।
२०७८ असारसम्म १५ खर्ब ३८ अर्ब कुल सम्पत्ति रहेको राष्ट्र बैंकले त्यसपछिको वर्षमा भने कुल सम्पत्तिमा वृद्धि गर्न सकेन, जसले गर्दा २०७९ असारसम्म कुल सम्पत्ति १५ खर्ब २७ अर्ब रुपैयाँमा सीमित हुन पुग्यो । उक्त वर्ष अघिल्लो वर्षको तुलनामा राष्ट्र बैंकको कुल सम्पत्ति ११ खर्ब रुपैयाँले घट्यो । त्यसपछिको समयमा भने कुल सम्पत्ति क्रमशः वृद्धिदर रहेको छ ।
राष्ट्र बैंकका अधिकारीहरूका अनुसार बाह्य क्षेत्र सुदृढ हुँदै गएकोले बैंकको विदेशी सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ । पछिल्लो समय वैदेशिक मुद्रामा रहेको सम्पत्तिमा वृद्धि हुँदा नेपाली मुद्राको सम्पत्तिमा भने कमी आएको उनीहरूको भनाइ छ । २०८० असारसम्म बैंकको विदेशी सम्पत्ति १४ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा २०८१ असारसम्म आइपुग्दा पाँच खर्ब २२ अर्ब रुपैयाँले वृद्धि हुनपुगेको छ । सोसँगै २०८१ असारसम्म आइपुग्दा राष्ट्र बैंकको सम्पत्ति १९ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकको विदेशी मुद्रामा रहेको सम्पत्ति वृद्धि हुनुको सट्टा घटेको पाइन्छ । २०७७ असारसम्म राष्ट्र बैंकको नेपाली मुद्रामा रहेको सम्पत्ति छ खर्ब ९६ अर्ब रहेकोमा हाल अर्थात् २०८१ असारसम्म भने एक खर्ब एक अर्ब रुपैयाँमा झरेको छ । योसँगै राष्ट्र बैंकले नेपाली मुद्रामा रहेको सम्पत्तिमा सुधार गर्न आवश्यक देखिन्छ, यसको लागि लगानी बढाउने दबाब राष्ट्र बैंकमाथि रहेको अधिकारीहरूको भनाइ छ । मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्दा राष्ट्र बैंकको नेपाली मुद्रामा रहको सम्पत्ति बढ्न नसकेको हो । सरकारले लगानीमैत्री वातावरण बनाउन नसक्दा बैंक तथा वित्तीय संस्थाले लगानी वृद्धि गर्न सकेका छैनन् भने निजी क्षेत्र खुम्चिएर बस्नुपर्ने बाध्यता छ । विदेशी लगानी प्रतिबद्धता ठूलो आउने र लगानी रकम न्यून मात्र भित्रिने देखिन्छ भने अर्कोतर्फ व्यापार घाटा समेत उच्च हुँदा विदेशी मुद्रा भित्रिन नसकेको अर्थविद् केशव आचार्यले बताए । ‘उच्च आयात र न्यून निर्यातका कारण व्यापार घाटा बढ्दो छ जसले गर्दा निर्यात व्यापारबाट हुने विदेशी मुद्रा आर्जन गर्न समेत राज्य सफल हुन सकेको छैन’, उनले भने ।
राष्ट्र बैंकको कुल सम्पत्तिमा वृद्धि भएसँगै कुल दायित्व समेत बढेको छ । राष्ट्र बैंकको २०८१ असारसम्म कुल दायित्व १५ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा चार खर्ब रुपैयाँले बढी हो । २०८० असारसम्म राष्ट्र बैंकको कुल दायित्व ११ खर्ब १८ अर्ब रुपैयाँ रहेको थियो । राष्ट्र बैंकको २०८१ असारसम्म रिजर्भ कोषमा पाँच खर्ब ४३ अर्ब रुपैयाँ रकम रहेका छ । रिजर्भ कोषको वृद्धिदर पनि धनात्मक रहेको देखिन्छ ।