काठमाडौं, साउन १५
माछापुच्छ्रे बैंक र नेपाल चिकित्सक संघबीच सम्झौता भएको छ । बैंकका अनुसार नेपाल चिकित्सक संघसँग प्रत्यक्ष र अप्रत्यक्षरूपमा आबद्ध रहेका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरू तथा संस्थाहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्की र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।
राज्यको अभिन्न अंगको रूपमा रहेको चिकित्सा क्षेत्रमा आबद्ध चिकित्सक, स्वास्थ्यकर्मी तथा संस्थाहरूलाई बैंकले विशेष प्राथमिकतामा राखेर बैंकिङ सेवा प्रदान गरेको बैंकले जनाएको छ । बैंकले संघको अफिसियल बैंकको रूपमा आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट सघंका सदस्यहरूलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सुविधाहरूमा विशेष सहुलियत प्रदान गर्नेछ ।
स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको बैंकले पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकको सबै क्षेत्रमा गरी एक सय ५९ शाखा, एक सय ३४ शाखारहित बैकिङ सेवा र पाँच वटा एक्सटेन्स काउन्टर समेत गरी जम्मा दुुई सय ९८ स्थानमा रहेका सेवा सञ्जाल तथा एक सय ९८ वटा एटीएमहरू तथा एक हजारभन्दा बढी पीओएसमार्फत ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।