काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्रिक आन्दोलनमा गोरखाली नेता चन्द्रप्रसाद न्यौपानेको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । जिल्ला विकास समिति गोरखाका पूर्वसभापति न्यौपानेको पहिलो स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै दिवङ्गत न्यौपानेले लोकतान्त्रिक आन्दोलनमा दिएको योगदान अनुकरणीय रहेको बताए ।
“प्रजातन्त्र पुनःस्थापना, लोकतान्त्रको सबलीकरणका लागि नेपाली कांग्रेस पार्टीले आह्वान गरेको सत्याग्रह र जनआन्दोलनमा सक्रियरुपले सहभागी हुनुभएका न्यौपानेले पटकपटक जेल जीवन विताउनुभयो”, सभापति देउवाले भने, “पञ्चायको कठिन घडीमा पनि पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै जिल्लाको विकास निर्माण, स्वास्थ्य र शिक्षा क्षेत्रमा उल्लेख्य योगदान दिनुभयो ।”
सभापति देउवाले पार्टी प्रतिबन्धित रहेको अवस्थामा २०२४ सालमै पार्टी जिल्ला कार्यसमिति सदस्य रहेका न्यौपानेले प्रजातन्त्र पुनःस्थापनापछि लामो समयसम्म महासमिति सदस्यसहित विभिन्न भूमिकामा रहएको स्मरण गरे ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो राजनीतिक यात्राको सुरुआत न्यौपानेबाटै भएको स्मरण गर्दै सिद्धान्तप्रतिको निष्ठा, नैतिकता र सदाचार उहाँबाट अनुशरण गर्न लायक रहेको बताए ।
कांग्रेस नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यौपानेको निष्ठा, त्याग र सिद्धान्तप्रतिको प्रतिबद्धता सदैव प्रशंसनीय रहेको बताए । नेत्री एवं राष्ट्रियसभा सदस्य कमला पन्तले पछिल्लो समय पार्टीमा निष्ठा कमजोर हुँदै गएकामा चिन्ता व्यक्त गर्दै देश र जनताप्रतिको सेवाभाव र विश्वास न्यौापनेबाट सिक्नुपर्ने बताए ।
कांग्रेस गण्डकी प्रदेशका महामन्त्री एवं राष्ट्रियसभा सदस्य किरणबाबु पुनले जलिट राजनीतिक परिस्थितिमा आफ्नो जीवनको बाजी लगाएर न्यौपानेले अघि बढाएको राजनीतिक यात्रा अविस्मरणीय रहेको बताए । नेता डा. मिनेन्द्र रिजालले पञ्चायतको कठिन र जटिल अवस्थामा जनतासँग जोडिएर न्यौपानेले प्रजातन्त्र र लोकतान्त्रका निम्ति आफूलाई समर्पित गरेको राससलाई बताए ।
कार्यक्रममा कांग्रेस नेता चीनकाजी श्रेष्ठ र नन्दलाल न्यौपानेलगायतले दिवङ्गत न्यौपानेको राजनीतिक जीवनको चर्चा गर्दै उनको विचार र भावना अनुशरण गर्न सकेमात्रै सञ्चा श्रद्धाञ्जली हुने बताए ।
सो अवसरमा सभापति देउवाले ‘चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ’ लोकार्पण गरेका थिए । सो ग्रन्धमा २०१४ सालदेखि राजनीतिक यात्रा आरम्भ गरेका न्यौपानेसम्बन्धी ४७ वटा संस्मरणात्मक लेखरचना समावेश छन् ।