सर्लाही । सर्लाहीको प्रमुख व्यापारिक केन्द्र रहेको बरहथवा बजारमा सम्पूर्ण निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा भएको पाइएपछि बरहथवा बजारमा रहेका ११ वटा निजी अस्पताल तथा पोलिक्लिनिकको मुख्यमन्त्री सतीशकुमार सिंहले बुधवार अनुगमन गरी अवैध रहेका ती सबै स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिएका छन् ।
मापदण्ड पूरा नगरी र दर्ता समेत नरहेका ह्याप्पी अस्पताल, सर्लाही गोल्डेन अस्पताल, सङ्कट मोचन अस्पताल, सञ्जीवनी अस्पताल, भेनस अस्पताल, हनुमन्त अस्पताल, बरहथवा नवजीवन अस्पताल र अन्य चार वटा पोलिक्लिनिक मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएका हुन् ।
मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले मापदण्ड विपरीत रहेका ११ वटै स्वास्थ्य संस्थालाई पत्र काटेर तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिइएको जानकारी दिए ।
बरहथवास्थित गोल्डेन अस्पतालमा मङ्गलबार साँझ उपचारका लागि आएका बिरामीले भर्ना भएको लगत्तै धेरै बिल उठाएको भन्दै विरोध जनाउँदा तनाव उत्पन्न भएपछि मुख्यमन्त्री सिंह अस्पताल अनुगमनका लागि बरहथवा आइपुगेका हुन् ।
यसअघि सर्लाहीमा नवलपुर, लालबन्दी र मलङ्गवाका निजी अस्पताल अनुगमन गरी मुख्यमन्त्री सिंहले अस्पताललाई बन्द गर्न निर्देशन दिएका मापदण्ड विपरीतका अस्पताल अहिले खुलेआम सञ्चालन भइरहेको भन्दै चौतर्फी गुनासो आइरहेको छ ।