काठमाडौं । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि सीमापार आवागमनलाई सहज बनाउने विभिन्न प्रयासहरू भइरहेको जनाएको छ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा भएको ‘नेपाल फेस्टिबल’अन्तर्गत ‘दिगो पर्यटन सुदृढीकरण : धार्मिक, सम्पदागत र साहसिक पर्यटन प्रवर्द्धन’ शीर्षकको सत्रमा बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भारतीय पर्यटकहरूंको आवागमन सहजताका लागि भइरहेका प्रयासबारे जानकारी गराएका छन् । भारतीय पर्यटकहरूको आवागमन सहजताका साथै धार्मिक तथा साहसिक पर्यटनलाई समेट्ने नेपालको समग्र दीर्घकालीन दृष्टिकोण र नीतिगत सुधारका कामहरू पनि भइरहेको उनले बताए । भारत नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत बजार भएकाले बोर्डले सीमापार पर्यटन प्रवर्द्धनमा अझ सक्रिय भई सहकार्य विस्तार गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा बोर्डको तर्फबाट वरिष्ठ निर्देशक ऐयर र वरिष्ठ अधिकृत सागर उपाध्यायले प्रतिनिधित्व गरेका थिए ।
नेपाल र भारतबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले वर्षको अन्तिम साता एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज र नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन भारतका संस्कृतिमन्त्री माननीय गजेन्द्र सिंह शेखावत, नेपालका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौधरी र भारतका लागि नेपालका राजदूत डा शंकर प्रसाद शर्माले संयुक्तरूपमा गरेका थिए । तीन दिनसम्म चलेको कार्यक्रममा नेपाल–भारत सम्बन्ध, व्यापार सहकार्य तथा पर्यटनको भविष्यसम्बन्धी विविध समसामयिक विषयमा बहस तथा गोष्ठीहरू आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डको प्रदर्शनी कक्ष (पवेलियन)ले नेपाली संस्कृति, प्रकृति, साहसिक यात्रा, अध्यात्मिक तथा वेलनेस पर्यटनजस्ता विषयवस्तुहरू प्रस्तुत गरेको थियो । स्टलमार्फत् विभिन्न प्रचार सामग्री, जानकारीमूलक पुस्तिका तथा नेपाली पहिचान झल्काउने सामग्रीहरू वितरण गरिएको थियो । कार्यक्रममा नेपाली परिकारहरूको प्रदर्शनीले भारतका आगन्तुकहरूलाई नेपालको स्वाद चाख्ने अवसर प्रदान गरेको थियो । साथै, नेपाली हस्तकला र स्थानीय उत्पादनहरूको प्रदर्शनीले नेपालको समृद्ध हस्तकला परम्परा उजागर गरेको बोर्डले जनाएको छ । यस किसिमका कार्यक्रममा दुई देशको संस्कृति र गन्तव्यहरूको प्रदर्शनीले आपसी मित्रता र सांस्कृतिक आदानप्रदानलाई थप बलियो बनाउने बोर्डको विश्वास छ ।