वासिङटन डिसी । अमेरिका र चीनबीचको कर युद्ध अझ चर्किएको छ । अमेरिकाले अब चीनमाथि फेरि एक सय प्रतिशत कर बढाएको छ । यससँगै अमेरिकामा आयात हुने चिनियाँ सामानहरूमा कुल भन्सार शुल्क दुई सय ४५ प्रतिशत पुगेको छ ।
चीनले अप्रिल ११ मा अमेरिकी सामानमा एक सय २५ प्रतिशत कर लगाएको थियो, जसको जवाफमा ट्रम्पले नयाँ कर लगाएका छन् । यसअघि चीनले अब अमेरिकाले लगाएको कुनै पनि अतिरिक्त करको जवाफ नदिने बताएको थियो ।
अमेरिकाले नयाँ करको घोषणा गरेपछि चीनले अमेरिकासँग व्यापार युद्धबाट नडराउने चेतावनी दिएको छ । चीनले अमेरिकाले वार्ता गर्नुपर्छ भनेर दोहो¥याएको छ । यसअघि डोनाल्ड ट्रम्पले चीनले वार्ता सुरु गर्नुपर्ने बताएका थिए ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिका साँच्चै वार्ता र सम्झौताको माध्यमबाट समस्या समाधान गर्न चाहन्छ भने उसले अनावश्यक दबाब, धम्की र ब्ल्याकमेल बन्द गर्नुपर्ने र समानता, सम्मान र पारस्परिक हितको आधारमा चीनसँग कुरा गर्नुपर्ने बतएका छन् ।
लिन जियानले पत्रकारहरूलाई भने कि तपाईँले अमेरिकालाई सोध्नु पर्छ कि दुई सय ४५ प्रतिशत अमेरिकी ट्यारिफअन्तर्गत विभिन्न कर दरहरू के हुनेछन् । जियानले भने, ‘यो कर युद्ध हामीले होइन, अमेरिकाले सुरु गरेको हो । हामी केवल अमेरिकाको कारबाहीको जवाफ दिइरहेका छौँ । हाम्रा कार्यहरू पूर्णतया तार्किक र कानुनी छन् । हामी हाम्रो देशको अधिकार र अन्तर्राष्ट्रिय व्यापारमा इमानदारी कायम राख्न प्रयासरत छौँ ।’