काठमाडौं ।आज देशका सडकमा फेरि शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । अस्थायी प्रकृतिका शिक्षकको सेवासुविधा, विद्यालय कर्मचारीहरूको स्थायित्व, लकक्षामा शिक्षकको सुविधा, तलब र ग्रेडको विषयमा शिक्षण पेसाका केही तह र श्रेणी (प्रातृ, प्रा द्वि, निमा तृ र मावि प्रथम)को उच्चतम ग्रेड संख्या समान तहका निजामती सेवाका कर्मचारीको भन्दा कम रहेको, निमावि प्रथमको तलब समान तह, (माध्यमिक द्वितीय÷उपसचिव)भन्दा कम रहेको, यसको खालको विभेदलाई सधैँका लागि अन्त्य गर्न शिक्षकको तलब र ग्रेड समान तह र श्रेणीका निजामती कर्मचारीको भन्दा कम नहुनेगरी ऐनमा नै व्यवस्था गर्नेलगायतका २२ बुँदे मागहरू राखेर शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् ।
हातमा झण्डा, मुखमा नारा र आँखामा आक्रोश बोकेर उभिएका शिक्षकहरू आफ्नो माग पूरा नभएसम्म घर नफर्किने अडानमा छन् । सरकारसँग उहाँहरूको माग छ कि कानुन पारित होस्, अधिकारको सम्मान होस्, अनि शिक्षा प्रणालीमा सुधार होस् । तर यी नाराभित्र कतै एउटा मौन प्रश्न पनि गुञ्जिरहेको छ कि किन सरकारी विद्यालयमा पढाउने शिक्षकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउँछन् ? के त्यो विद्यालय यति कमजोर छ, जहाँ उनीहरूले पढाउँछन् ? के त्यही कक्षामा गरिबका छोराछोरीलाई भविष्यको सपना देख्न लगाउनु उचित हो ? यो प्रश्न केवल व्यवस्थामाथिको आक्रोश होइन, गहिरो आत्मसमीक्षा हो । यदि शिक्षकले नै आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन नसक्ने भए, उनीहरूले अरूका छोराछोरीको भविष्यको जिम्मा कसरी लिन्छन् ? शिक्षकहरूले आफ्ना सन्तानलाई आफैं पढाउने सरकारी विद्यालयमै भर्ना गर्नुपर्ने, यो एउटा चेतनाको दस्तावेज बनोस् ।
यो प्रस्ताव शिक्षकलाई कमजोर बनाउने होइन, बरु सशक्त बनाउने सुरुवात हो । यो प्रस्ताव निन्दा होइन, एक ऐना हो, जसमा शिक्षाले आफ्नो अनुहार हेर्न सक्छ । शिक्षक आन्दोलन जायज छ । तर त्यो आन्दोलन तब मात्र सार्थक हुन्छ । जब शिक्षकले आफ्नै जीवनमा उदाहरण प्रस्तुत गर्छन् । यदि शिक्षकले आफैँ सरकारी विद्यालयमा विश्वास राख्दैनन् भने त्यो विद्यालयमा विद्यार्थीलाई कसरी विश्वास दिलाइन्छ ? आज कक्षा १२ को परीक्षा संघारमा छ । लाखौँ विद्यार्थीहरू एकाग्रता र आशाका साथ तयारी गरिरहेका छन् । के उनीहरूका सपनालाई स्थगनको कारण बनाउनु न्यायोचित हो ? पढाइ रोकिएला केही दिन तर सपना भने कहिल्यै रोकिँदैन । तर पनि त्यो सपना जोगाउने जिम्मा पनि त शिक्षककै हो ।
शिक्षक केवल पाठ्यक्रम पढाउने होइनन्, समाजलाई दृष्टिकोण सिकाउने पात्र हुन् । जब उनीहरूले आफ्ना छोराछोरीलाई त्यही कक्षामा राख्छन् जहाँ उनीहरू पढाउँछन्, त्यस दिनदेखि कक्षा केवल जागिरको केन्द्र हुँदैन । त्यो त साझा आशा र समान अवसरको थलो बन्छ । हामी स्वीकार गर्छौं, सरकारी विद्यालयहरूमा सुधार आवश्यक छ । सुविधा छैनन्, संसाधन छैनन्, व्यवस्थापन कमजोर छ । तर सुधार कसले गर्ने ? सरकारले त कानुन बनाउँछ तर त्यसलाई जीवन्त बनाउने काम त शिक्षककै हो । त्यो सुधार तब मात्र सम्भव छ, जब शिक्षक, अभिभावक र विद्यार्थी एउटै वृत्तमा उभिन्छन् । आज शिक्षकहरू सडकमा छन् । तर भोलि उनीहरूले सडकमा लिएको पीडा कक्षाकोठामा रूपान्तरण गर्न सक्नुपर्छ ।
त्यस दिन विद्यार्थीले पाठ्यपुस्तक होइन, व्यवहारबाट शिक्षा लिन्छन् । अब समय आएको छ कि शिक्षामा समानताको कुरा केवल नीति नभई अभ्यास होस् । तिमी शिक्षक हौ भने तिमीलाई थाहा हुनुपर्छ कि तिमी केवल तलब पाउने कर्मचारी होइनौ, तिमी त समाजमा चेतनाको प्रतिनिधि हौँ । यदि तिमी आफ्नो सन्तानलाई निजी विद्यालयमा पढाउँछौ र आफू सरकारी विद्यालयमा पढाउँछौ भने तिमी नैतिक प्रश्नको कठघरामा उभिनै पर्छ । तिमी आफ्नै छोराछोरीलाई पढाउन नसक्ने विद्यालयमा अरूका छोराछोरीलाई कुन नैतिकताले पढाउँछौं ? त्यसले दिने संकेत गम्भीर छ । त्यो संकेतले समाजमा भेद देखाउँछ, अनि विश्वास टुटाउँछ । यदि सरकारी विद्यालय ठीक छैन भने तिमी किन तिनलाई सुधार्न लाग्दैनौँ ? तिमी किन भाग्दैछौ ? आजको आन्दोलनले केवल ऐन पारित होस् भन्ने चाहना मात्रै नगरोस्, त्यो चाहनाभित्र एउटा गहिरो सन्देश होस् । शिक्षक सुधारका संवाहक हुन्, उपभोक्ता होइनन् ।
सरकारले पनि यथाशीघ्र शिक्षकको आवाज सुन्नुपर्छ । संवाद होस्, सहमति होस्, अनि समाधान होस् । तर विद्यार्थीको भविष्य बीच बाटोमा नछोडियोस् । एक दिन आउनेछ, जब सरकारी विद्यालयमा पनि गुणस्तरीय शिक्षा हुनेछ । तर त्यो दिन तब आउँछ, जब शिक्षक आफ्ना छोराछोरीलाई त्यो कक्षामा राख्न सक्ने बनाउँछ । त्यस दिन शिक्षा समान हुनेछ, अवसर साझा हुनेछ र शिक्षकको आत्मसम्मान झनै उँचो हुनेछ । तिमी शिक्षक हौ भने आजैबाट उदाहरण बन्ने साहस गर । तिमी आफ्ना सन्तानलाई आफू कार्यरत सरकारी विद्यालयमै अनिवार्यरूपमा पढाउन आँट गर अनि त्यस दिनदेखि तिमी शिक्षक मात्रै होइन, एउटा आन्दोलन, एउटा प्रेरणा र एउटा उज्यालो बन्नेछौ ।