काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले धितो लिलाम हुन नसक्दा अप्ठ्यारो अवस्थामा पुगेका छन् । गैरबैंकिङ सम्पत्ति लिलाम बिक्रीको लागि पटक–पटक बोलकबोल आह्वान गर्दा पनि बिक्री हुन नसकेपछि बैंकिङ क्षेत्र अप्ठ्यारोमा परेको हो । बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति बिक्री हुन नसकेपछि वितरणयोग्य नाफामा असर परेको छ ।
राष्ट्र बैंकका अनुसार २०८१ फागुन मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा संस्थाहरूको कुल गैरबैंकिङ सम्पत्ति बढेर ४२ अर्ब पाँच करोड ७० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकिङ क्षेत्रमा औसत खराब कर्जाको अनुपात पनि बढेर चार दशमलव ९२ प्रतिशत पुगेको छ । बैंकिङ क्षेत्रमा खराब कर्जा बढेसँगै गैरबैंकिङ सम्पत्ति पनि उच्चरूपमा बढेको देखिएको छ ।
बैंकहरूको गैरबैंकिङ सम्पत्ति गत वर्षको फागुन मसान्तको अवधिको तुलनामा १८ अर्ब नौ करोड रुपैयाँ बढेको छ । २०८० फागुन मसान्तमा बैंकिङ क्षेत्रको खराब कर्जा तीन दशमलव ७३ प्रतिशत थियो भने गैरबैंकिङ सम्पत्ति २३ अर्ब ९६ करोड ७० लाख रुपैयाँ थियो । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंकिङ क्षेत्रमा औसतमा एक दशमलव १९ प्रतिशत विन्दुले खराब कर्जा बढ्दा गैरबैंकिङ सम्पत्ति झण्डै १८ अर्ब रुपैयाँले बढेको छ । २०८१ फागुन मसान्तमा वाणिज्य बैंकहरूमा औसतमा चार दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय हुँदा ३६ अर्ब २० करोड ९० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १६ अर्ब नौ करोड ८० लाख रुपैयाँले बढी हो । गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरूमा औसतमा तीन दशमलव ६३ प्रतिशत कर्जा खराब हुँदा २० अर्ब ११ करोड १० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो ।
विकास बैंकहरूमा २०८१ फागुन महिनाको अवधिमा औसतमा पाँच दशमलव ११ प्रतिशत कर्जा खराब हुँदा तीन अर्ब ५० करोड ५० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ९५ करोड ७० लाख रुपैयाँ बढी हो । गत वर्षको सोही अवधिमा विकास बैंकहरूमा औसतमा तीन दशमलव ६१ प्रतिशत कर्जा खराब हुँदा दुई अर्ब ५४ करोड ८० रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार २०८१ फागुनसम्म फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा औसत १२ दशमलव ८५ प्रतिशत हुँदा गैरबैंकिङ सम्पत्ति दुई अर्ब ३४ करोड ४० लाख रुपैयाँ छ । जुन गत वर्षको सोही अवधिको तुलनामा एक अर्ब तीन करोड ६० लाख रुपैयाँले बढी हो । गत वर्ष फागुन मसान्तमा फाइनान्स कम्पनीहरूको औसत निष्क्रिय कर्जा नौ दशमलव १८ प्रतिशत थियो भने गैरबैंकिङ सम्पत्ति एक अर्ब ३० करोड ८० लाख रुपैयाँ थियो ।