आजको दिनमा हेर्ने हो भने नेपालको धेरैजसो राजमार्गहरू या त विस्तारमा छन् या त बाढीले बगाएर क्षति पुगेका छन् । कतिपय राजमार्गहरू त अझै निर्माणको क्रममै छन् । निर्माणको क्रममा रहेका कारण धेरै राजमार्ग त यात्रा गरिसाध्य नै छैनन् । एउटा त धुलो, त्यसैमाथि छाडा छाडिएका गाईवस्तु र कुकुरहरूले गर्दा जोखिम अझ बढ्ने गरेको छ । त्यसैमाथि थपिने फोहोरको त कुरै छाडौं । एउटा ठाउँबाट अर्को ठाउँ जानुपर्दा अत्यन्तै कष्टकररूपमा यात्रा गर्नुपर्ने हुन्छ, जसले गर्दा सवारी दुर्घटना पनि बढ्ने गरेको छ । यसै कारण समय खर्च हुनु, बढी थकान हुनु, धुलो खानु परिरहँदा पनि राजमार्गका प्रायः साना टिनका खाजाघरहरू अत्यन्तै फोहोर देखिन्छन् । झिँगा भन्किएको खाना, फोहोर शौचालय, रूखो व्यवहार तथा जथाभावी फालिएका बोतल र प्लास्टिकले राजमार्ग कुरूप बनाएका छन् ।
राजमार्गमा यात्रुको अत्यधिक चाप छ, तापनि कतै उचित व्यवस्थापन छैन । सडक किनारमा झोलामा बाँधिएको फोहोर, पानीका बोतल, प्लास्टिकका प्लेट र गिलास, जथाभावी फालिएको खाना, दुर्गन्ध र झिँगाको आक्रमणजस्ता दृश्य सामान्य बनिसकेका छन् । त्यसैले प्रश्न उठ्छ, हाम्रा राजमार्गका पसलहरू यति फोहोर किन छन् ? सायद संरचनाको कमजोरीले गर्दा पनि फोहोर भएका होलान् । परायजस्ता देखिने र टिनका छाना भएका साना टिनका पसलहरू अगाडि धुलो, छाडारूपमा छोडिएका कुखुरा र डस्टबिनको व्यवस्था नभएकाले पनि जथाभावी फोहोर देखिन्छ । अनि मानिसमा चेतनाको कमीले गर्दा जथाभावी प्लास्टिकका बोतलहरू फाल्ने गर्छन् र प्लास्टिकजन्य फोहोर फालेर पनि जताततै फोहोर देखिन्छ ।
न त पसलहरू औपचारिकरूपमा खुलेका छन्, न त सरकारी स्वीकृति लिएका हुन्छन् । प्रायः पसलहरू पूर्वाधारयुक्त योजनाअनुसार सञ्चालनमा छन् । त्यहाँ न त पसल वा अन्य निकायले फोहोर व्यवस्थापनमा पहल गर्ने गरेका छन् न त यात्रुले नै यसलाई संवेदनशील मान्ने गरेका छन् । बाटोमै फोहोर बाटोमै गाडी । त्यसैले मानिसमा चेतनाको स्तर बढाउनु जरुरी छ । पसलधनी तथा ग्राहक दुवैमा फोहोर व्यवस्थापनप्रति चेतनाको कमी छ । हेपाहा प्रवृत्ति सबैमा छ । ‘फालिहाल्दा के हुन्छ र !’ भन्ने सोच व्यापक छ ।
प्लास्टिक झोला, चाउचाउको खोल, खानेकुराका अवशेष सबैजसो सडकछेउ फालिन्छ । यस्तो संस्कार वर्षौंदेखि दोहोरिइरहेको छ । साथै, फोहोरको नाली नदीमा सिधै मिसाउने गरिन्छ । यसमा न त स्थानीय निकायले पहल गर्छ, न त गाडीवाला र यात्रुले नै । पसलधनीलाई त चासो हुने कुरै भएन । उनीहरु त आफ्नो व्यापार शिवाय अरू केही हेर्दैनन् । यसमा स्थानीय तहको कमजोरी तथा पूरै राज्य संयन्त्रको कमजोरी छ । त्यसैले स्थानीय तहको पनि प्रभावकारी भूमिका नै देखिँदैन । न त निगरानी हुन्छ, न त अनुगमन । पसलहरूलाई तालिम दिने, फोहोर संकलन गर्ने योजना बनाउने र दण्ड–जरिवाना प्रणाली लागू गर्ने काम पनि नगरिएको पाइन्छ । जसले गर्दा ‘चली हाल्छ नि’ भन्ने पुरानो धारणा छ ।
सबै पसलहरूलाई अनिवार्यरूपमा आफ्नो अगाडि गिट्टी वा ढुंगा हालेर धुलोरहित बनाउने निर्देशन दिने, हरियाली बनाउने प्रयास गरी रूख बिरुवा रोपेर सुसज्जित बनाउने, शौचालय तथा भान्सा अनिवार्यरूपमा सफा राख्न लगाउने, छाडा चौपाया तथा कुखुरा र कुकुरलगायत गाईगोरुलाई नियन्त्रण गर्ने गरेमा राजमार्ग कति राम्रो हुन्थ्यो होला ?
यस्तो अवस्थामा राष्ट्रिय पर्यटक त कष्टकर अवस्थामा यात्रा गर्नुपर्ने हुन्छ भने अन्तर्राष्ट्रिय पर्यटकले त नेपाल भ्रमण गर्दा राम्रो सन्देश लान सक्दैनन् । राजमार्गमा त स्थानीय परिकारको व्यापारको प्रोत्साहन गरिने झल्को दिनुपर्छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने थलो नै राजमार्ग हो । ठाउँ विशेषअनुसारको खानाको प्रबन्ध गरिने, ठाउँअनुसारको झल्को दिने चिह्न राख्ने, वरिपरि विभिन्न जातका फलफूलका बिरुवालगायत फूलका बिरुवाहरू रोप्न प्रोत्साहन गरिने, अनि आफ्नो आफ्नो ठाउँ अगाडि आफैँ नै सफा र धुलोरहित बनाउने अभियान चलाए हाम्रो राजमार्ग कति राम्रो हुन्थ्यो होला ?
खासगरी पुराना गाडीको धुवाँ, सडकबाट निस्कने धुलोका कारणले वातावरणमा गम्भीर असर परिरहेको छ । देशमा सरकार छ, सुरक्षा निकाय छ, वातावरण मन्त्रालय छ, स्थानीय सरकार छ अनि जनता आफैँ छन् । तर ठोस कदम र दीर्घकालीन योजना बनाएको पाइँदैन ।
बाहिरी पर्यटकले नेपाल भित्रिँदा सहज महसुस गर्नुपर्छ । बाटोको खानपान पनि स्वस्थ र सफा हुनुपर्छ । यहाँ त न खाद्य तथा गुण नियन्त्रण विभागले हेर्छ, न त स्थानीय निकायले । राजमार्गहरू पर्यटनसँग प्रत्यक्ष सम्बन्धित हुन्छन् । तर फोहोरले पर्यटकको मन खराब बनाउँछ । स्वच्छ, सफा वातावरण पर्यटनको पहिलो सर्त हो । तर यसतर्फ सरकार र निजी क्षेत्र दुवैले बेवास्ता गरेको देखिन्छ ।
समाधानका लागि के गर्ने ?
अब हामीले समाधानको उपाय सोच्ने बेला आएको छ । समाधानका लागि के गर्ने त ? यदि राजमार्गलाई सफा राख्ने हो भने फोहोर गर्न नदिने र फोहोर व्यवस्थापनमा ध्यान दिनका लागि प्रत्येक पसललाई कडाभन्दा कडा निर्देशन दिनुपर्छ । आफ्नो–आफ्नो पसल अगाडि सबैले धुलो रहित बनाउनु पर्ने र यात्रुलाई पनि फोहोर डस्टिबिनमा राख्न जिम्मेवार बनाउने जिम्मा पसलेलाई दिनुपर्छ । प्रत्येक पसलमा अनिवार्य डस्टबिन राख्ने व्यवस्था गर्ने, पहिला माइकिङ गर्दै सम्झाउने अनि मानेनन् भने कडा कारबाही गरी जरिवाना गराउने, अनिवार्य रूपमा हरियाली बनाउने, फोहोर छुट्याउने र व्यवस्थापन गर्ने तालिम दिने अनि बेला–बेला सरसफाइ अभियान चलाउने गर्नुपर्छ ।
त्यस्तै, नियमित फोहोर संकलन गर्ने, सबै नागरिकलाई सचेत गराउने, बस तथा सबै सवारी साधनलाई कडाभन्दा कडा निर्देशन दिने, पसल सञ्चालनको अनुमतिपूर्व सरसफाइ योजना अनिवार्य बनाउने, अखाद्य खानेकुरा खुवाएमा कारबाही गर्ने, स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिने गरी खानाका सामग्री बेच्नेमा निर्देशन दिने, पसल दर्ता गर्दै अनिवार्यरूपमा सरसफाइ हुनुपर्छ भनेर सतर्क गराउनुपर्छ ।
राजमार्गलाई सफा बनाउनका लागि यात्रुलाई सूचना बोर्ड तथा जनचेतनाको कार्यक्रम ल्याउनुपर्ने, वातावरणमैत्री झोलाको प्रयोगमा ध्यान दिने गर्नुपर्छ । यति गर्न सकियो भने मात्र पनि कति सुन्दर र स्वच्छ राजमार्गमा यात्रा गर्न पाइन्थ्यो होला ? गर्न चाह्यो भने जे पनि हुन्छ तर मानिसलाई सजिलै छाडिदियो भने मानिसले टाउकोमा टेक्छ । साथै, राजमार्गका पसलहरूले यदि कालोबजारी गरेका छन्, मूल्यमा अत्यधिक अन्तर गरेका छन् । बासी खानेकुरा बेचेका छन् तथा अखाद्य वस्तुहरूको बिक्री वितरण गरेका छन् भने तिनीहरूलाई तुरुन्तै निलम्बन गरी हटाउनुपर्छ ।
यदि यी उपायहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सकियो भने हाम्रा राजमार्गहरू साँच्चिकै स्वच्छ, सुरक्षित र रमणीय बन्न सक्छन् । फुलैफूलको संसारको यात्रा गरेको अनुभूति गर्न पाइन्थ्यो, यात्रुको थकान मेट्ने ती पसलहरू आत्मीयताको प्रतीक बन्न सक्थे । पसलेहरूलाई पनि ग्राहकहरू भनेको भगवान् हुन् भन्ने प्रशिक्षण दिई राम्रो व्यवहार गर्न सिकाई, सोहीअनुरूप गरेदेखि हाम्रो नेपालभित्रको यात्रा अत्यन्त रमणीय हुने थियो, न कि फोहोरको गन्ध बोकेका अस्वस्थ स्थान ।
अब समय आइसकेको छ । हामी सबै मिलेर सचेत र जिम्मेवार बनौँ । पुरानो धारालाई बदलौँ । देशको मुहार यस्ता साना–साना कुराबाटै फेरौँ । अब सबै मिली सभ्य समाजको निर्माण गरौँ ।