गण्डकी । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुक्रबार पोखरामा उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । उनले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने संविधानविरोधी गतिविधि कुनै पनि हालतमा क्षम्य नहुने बताए ।
वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएकाले यसैमार्फत हरेक समस्याको समाधान सम्भव भएको धारणा राख्दै मन्त्री लेखकले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त वर्तमान संविधानको रक्षाका लागि सबै तयार हुनुपर्ने बताए ।
“संविधानभित्र रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइन्छ । संविधानविरोधी गतिविधिका माध्यमबाट हत्याहिंसालाई प्रश्रय दिने, संविधान फाल्छु भन्नेजस्ता अराजक गतिविधि गर्न पाइँदैन । गरिएमा कानुनअनुसार कारबाही हुन्छ”, मन्त्री लेखकको भनाइ थियो, “संविधानको रक्षा आजको आवश्यकता हो । वर्तमान संविधान निर्माणको १० वर्षे हुँदैछ । यस अवधिको आवश्यक समीक्षासहित सम्बद्ध सबैसँग सहमति कायम गरेर आवश्यकताका आधारमा संशोधन गर्दै थप सुधारको प्रयास गरिने छ ।”
मन्त्री लेखकले पछिल्ला वर्षमा लागुऔषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध, प्राकृतिक विपद् आदि चुनौतीका रूपमा देखापरेकाले यी सबै चुनौतीको समाधान गर्नेतर्फ सरकार निरन्तर क्रियाशील रहेको बताए । उनले जिल्लामा प्रमुख जिल्ला अधिकारीलगायतको रूपमा सङ्घी सरकारका प्रतिनिधि रहेकाले यस कार्यालयले सङ्घ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याए ।
बाढी, पहिरा, भूकम्पलगायत विपद् प्रतिकार्यमा सरकार निरन्तर लागिपरेको बताउदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश प्राकृतिक विपत्तिका दृष्टिबाट पनि जोखिमपूर्ण रहेका भन्दै जोखिमलाई समाधान गर्नेतर्फ सरकार निरन्तर लागिरहेको बताए । गत वर्ष कोरला नाका सञ्चालनसमेत गरिएको बताउँदै उनले त्यसलाई थप व्यवस्थित गर्दैै अघि लैजानुपर्ने आवश्यकता औँल्याए ।
मन्त्री लेखकले एक समारोहका बीच आजै सङ्घ मातहत रहेको आपतकालीन गोदामघर गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई हस्तान्तरण गर्का हुन् । गण्डकी प्रदेशमा आपत्कालीन बन्दोबस्ती क्षमता अभिवृद्धि गर्न निर्माण गरिएको आपत्कालीन गोदामघरले सङ्कटका समयमा तत्काल प्रभावकारी बन्दोबस्ती सहायता सुनिश्चित गर्ने गृहमन्त्री लेखकले बताए ।
सबै स्थानीय पालिकामा गोदामघर हुनु आवश्यक भएको धारणा राख्दै गृहसचिव गोकर्णमणि दुवाडीले आपत्कालीन अवस्थामा खोज तथा उद्धारका लागि गोदामघर सहयोगी बन्ने बताए ।