काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको म्युचुअल फन्डको बिक्री खुला भएको छ । कम्पनीका अनुसार कोष प्रबर्द्धक तथा रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘रिलायबल सामूहिक लगानी कोष’अन्तर्गत सञ्चालन हुने पहिलो बन्दमुखी योजना ‘रिलायबल समृद्धि योजना’ वैशाख ३ गतेबाट बिक्री खुला हुने भएको हो । कोषको आकार एक अर्ब रुपैयाँको रहेको छ । जसमध्ये आठ करोड ५० लाख इकाई अथवा ८५ करोड रुपैयाँ बराबरको सार्वजनिक निष्काशनमार्फत बिक्री खुला गरिएको हो ।
यस योजना बन्दमुखी प्रकृतिको योजना भएकाले यसका इकाईहरू धितोपत्र बजारमा सूचीकरण भई सार्वजनिक निष्काशनपश्चात सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम धितोपत्र बजारमा खरिद बिक्री गर्न सकिनेछ । यस योजना नेपालमा बीमा क्षेत्रबाट कोष प्रबर्द्धन गरिएको पहिलो सामूहिक लगानी कोष हो । यस योजनाको वार्षिक औषत प्रतिफल १७ दशमलव ७३ प्रतिशत प्रक्षेपण गरिएको छ ।
रिलायबल सामूहिक लगानी कोषको सार्वजनिक निष्काशन मिति २०८२/०१/०३ गतेदेखि छिटोमा २०८२/०१/०७ गते र ढिलोमा २०८२/०१/१७ गतेसम्म खुला हुँदैछ र इच्छुक लगानीकर्ताहरूले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम एम हजारदेखि अधिकतम १० करोडसम्म लगानीका लागि सि–आस्वा खाता रहेको बैँक वा मेरो सेयरमा लगइन गरी अनलाइन आवेदन गर्न सक्नेछ । कम्पनीले सेयरधनीहरूलाई उत्कृष्ट प्रतिफल दिने प्रतिबद्धता गरेको छ ।