टोकियो । जापानले सन् २०२४ मा ३६ दशमलव छ अर्ब अमेरिकी डलरको व्यापार घाटा बेहोरेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । मार्चमा समाप्त भएको आर्थिक वर्षसम्ममा निर्यातको मूल्य लगातार चौथो वर्ष बढेर कुल एक सय आठ दशमलव ९३ ट्रिलियन येन पुगेको छ । गत वर्ष जापानको निर्यात पाँच दशमलव नौ प्रतिशतले वृद्धि भएको थियो ।
सन् १९७९ मा पहिलो पटक तुलनात्मक तथ्याङ्क सङ्कलन गरिएयताको उच्चतम स्तरमा रहेको छ । संयुक्त राज्य अमेरिकाको व्यक्तिगत कम्प्युटर र चीनबाट आएको स्मार्टफोनका कारण आयातको मूल्य एक वर्षअघिको तुलनामा चार दशमलव सात प्रतिशतले वृद्धि भई एक सय १४ दशमलव १६ ट्रिलियन येन पुगेको अर्थ मन्त्रालयले प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
जापानले चीनसँग सात दशमलव शून्य पाँच ट्रिलियन येनको व्यापार घाटा बेहोरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८ दशमलव सात प्रतिशतले बढी हो । जापानको चीनतर्फ निर्यात तीन दशमलव चार प्रतिशतले वृद्धि भई १८ दशमलव ८९ ट्रिलियन येन पुगेको छ भने आयात सात दशमलव एक प्रतिशतले बढेर २५ दशमलव ९४ ट्रिलियन येन पुगेको छ ।
संयुक्त राज्य अमेरिकासँग जापानको व्यापार अधिशेष एक दशमलव तीन प्रतिशतले घटेर नौ दशमलव शून्य एक ट्रिलियन येनमा झरेको छ । यो अघिल्लो वर्षको तुलनामा निर्यात तीन दशमलव आठ प्रतिशतले वृद्धि भई २१ दशमलव ६५ ट्रिलियन येन पुगेको छ र यसबाट आयात पनि सात दशमलव सात प्रतिशतले बढेर १२ दशमलव ६४ ट्रिलियन येन पुगेको छ । युरोपेली संघसँगको व्यापारमा जापान लगातार १३औँ वर्ष घाटामा रह्यो । गत वर्ष जापानको ईयूसँगको घाटा दुई दशमलव ५३ ट्रिलियन येन रहेको बताइएको छ ।