काठमाडौं । बजारमा देखिएको अनिश्चितताका कारण व्यापारीहरूले सुरक्षित लगानी खोज्दा केही महिनादेखि विश्वभरि सुनको मूल्य बढ्दै गएर अहिलेसम्मकै सर्वोच्च बिन्दुमा पुगेको छ।बुधवार 'स्पट गोल्ड' अर्थात् स्टक बजारमा बिक्री हुने सुनको मूल्य प्रतिआउन्स ३,३५७.४० (प्रतितोला १,३८१.३३ ) अमेरिकी डलर पुग्यो। त्यो अहिलेसम्मकै सर्वोच्च बिन्दु हो। तर त्यसपछि भने सुनको मूल्य केही घट्यो।
नेपालको स्थानीय बजारमा पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले वैशाख ४ का लागि सुनको मूल्य प्रतितोला १ लाख ९०,६०० रुपैयाँ तोकेको छ।यो मूल्यवान् धातुलाई परम्परादेखि नै आर्थिक अस्थिरता र कठिनाइका समयमा सबैभन्दा भरपर्दो सम्पत्तिका रूपमा हेरिन्छ। तर के सुनमा गरिने लगानी साँच्चिकै सुरक्षित हुन्छ त?
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेका कर योजनासँगै विश्व व्यापारको नीतिमा आएको सबैभन्दा ठूलो परिवर्तनसँगै गतसाता विश्वबजारमा सुनको मूल्य सबैभन्दा उच्च बन्यो।अमेरिकाले लगाएका कर र व्यापार युद्धको चिन्ताका कारण यो वर्ष कैयौँ पटक सुनको मूल्यमा नयाँ रेकर्डहरू बने।
अस्थिरताका समयमा सधैँ सुनको मूल्य बढ्ने गर्छ।
आर्थिक बजार खस्किँदा ठूलो सङ्ख्यामा खरिदकर्ताहरू मूल्यवान् धातु सुन किन्न दौडिन्छन्।सन् २०२० मा कोभिड-१९ महामारीले अर्थतन्त्र ओरालो लागिरहँदा सुनको मूल्य चाहिँ अचानक उकालो लागेको थियो।
यद्यपि बजार अर्थतन्त्रको अनिश्चितताले सुनलाई पनि असर गर्न सक्छ।
सन् २०२० को ज्यानुअरीतिर कोभिड महामारी सुरु हुँदा अकासिएको सुनको मूल्य त्यही वर्षको मार्चबाट ओरालो लाग्न थाल्यो।"त्यो 'सुरक्षित' लगानी हो भन्दैमा त्यसमा जोखिम छैन भन्ने अर्थमा बुझ्नु हुँदैन," फ्लाइअर्स भन्छन्।
यसको महँगो मूल्य मात्रै नभएर सहजै किनबेच गर्न सकिने, इतिहास र विभिन्न संस्कृतिमा उच्च महत्त्व भएका कारण पनि आर्थिक अनिश्चितताका समयमा सुनको लगानी सुरक्षित भन्ने छवि छ।
प्राचीन इजिप्टमा निर्मित तूतन्कामनको मखुन्डोदेखि घानाका राजा अशान्तिको आसन र भारतमा पद्मनाभस्वामी मन्दिरमा राखिएको गद्दीसम्म सबैमा सुन प्रयोग गरिएको छ। ती सबै स्थानमा सुनको धार्मिक तथा साङ्केतिक महत्त्व छ।
धेरै मानिसहरूले आफ्नो सम्पत्तिका रूपमा सुन राख्ने गरेको कतै छिपेको छैन।विश्वव्यापी बजार अर्थतन्त्रमा आउने उतारचढावले स्वदेशमा भएका सुनका गरगहनाको महत्त्वमा खासै फरक पार्दैन।
तर कुनै ठूलो लगानी कहिलेकाहीँ ठूला आर्थिक खेलाडीहरूको दयामायामा निर्भर रहन्छ।
"यस्तो निकै हुन्छ," डा फ्लाइअर्स भन्छन्। उनी सरकारी ब्याङ्कहरूले सुन किनेका कारण पनि सुनको मूल्यमा अहिले वृद्धि भएको आशङ्का गर्छन्।केन्द्रीय सरकारी ब्याङ्कहरूले बजारमा देखिने अनिश्चयको समयमा आफ्नो मौज्दात बढाउन इक्विटीको सट्टा सुन किनेर राख्छन्।
यद्यपि यस्तो धातुमा हुने लगानी खतरनाक हुन सक्छ।
"सुनको मूल्य बढ्छ भनेर अनुमान गर्नु जोखिमयुक्त रणनीति नै हो। किनभने जब बजार ठिकठाक हुन्छ र सरकार सुन बेच्न अघि सर्छ, त्यस बेला अन्य मानिसहरू पनि सुनको लगानीबाट पन्छिन्छन्," फ्लाइअर्स भन्छन्।
"सुनजस्ता कुरामा लगानी गर्ने हो भने लामो समयका लागि हेरेर गर्नुपर्छ।"
अहिले कसले सुन किनिरहेको छ?"सरकार, व्यक्तिगत लगानीकर्ता वा खुद्रा लगानीकर्ता जो पनि हुन सक्छन्," बेल्फास्ट विश्वविद्यालयका आर्थिक इतिहासकार डा फिलिप फ्लाइअर्स भन्छन्।
"मानिसहरूले शेअरजस्ता इक्विटी व्यापक मात्रामा बेचेर सुन किनिरहेका छन्।"
"अनि त्यसले यसको मूल्य वास्तवमै बढाउँछ।"परम्परादेखि नै बजार अर्थतन्त्रमा अनिश्चितता भएका समयमा सुन मानिसहरूको रोजाइमा पर्ने धातु बनेको छ।
(बीबीसी)