काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको कर्जा अर्थात् सेयर धितोमा प्रदान गरिने कर्जा प्रवाह बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ फागुन मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक वित्तीय संस्थाहरूले सेयर धितोमा कुल एक खर्ब १८ अर्ब ५० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा बैंकिङ क्षेत्रको कुल निक्षेप ६७ खर्ब ६९ अर्ब २७ करोड २० लाख र कुल कर्जा रकम ५४ खर्ब ५५ अर्ब ९७ करोड २० लाख रुपैयाँ छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा प्रवाह गरेको कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२ अर्ब ८० करोड रुपैयाँ बढी हो । २०८० फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ६१ खर्ब ८७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ५० खर्ब ८४ अर्ब ९३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा ८५ अर्ब ७० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
वाणिज्य बैंकहरूले मात्रै २०८१ फागुन मसान्तसम्ममा ६० खर्ब ४१ अर्ब २१ करोड ५० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४८ खर्ब ४० अर्ब छ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल ९६ अर्ब ३९ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा २०८० फागुन मसान्तको तुलनामा २९ अर्ब २६ करोड ७० लाख रुपैयाँले बढी हो । २०८० फागुनसम्म वाणिज्य बैंकहरूले कुल ५४ खर्ब ७१ अर्ब ८४ करोड ६० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४४ खर्ब ९२ अर्ब ८४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल ६७ अर्ब १२ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकहरूले भने २०८१ फागुनसम्म छ खर्ब दुई अर्ब पाँच करोड २० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी पाँच खर्ब १४ अर्ब २६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल १७ अर्ब ८७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा दुई अर्ब ९५ करोड २० लाख रुपैयाँले बढी हो । २०८० फागुनसम्म विकास बैंकहरूले पाँच खर्ब ९३ अर्ब ५८ करोड १० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी चार खर्ब ९६ अर्ब पाँच करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र प्रवाह गरेको कर्जा रकम १४ अर्ब ९१ करोड ९० लाख रुपैयाँ थियो ।
फाइनान्स कम्पनीहरूले भने २०८१ फागुनसम्म एक खर्ब २६ अर्ब ५० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी एक खर्ब एक अर्ब ६४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल चार अर्ब २३ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा ५८ करोड १० लाख रुपैयाँले बढी हो । २०८० फागुनसम्म फाइनान्स कम्पनीहरूले कुल एक खर्ब २२ अर्ब २१ करोड ९० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ९६ अर्ब तीन करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल तीन अर्ब ६५ करोड ५० लाख रुपैयाँ प्रवाह गरेका थिए ।