काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिई बसेका करिब एक हजार नौ सय व्यक्तिहरूलाई चैत्र २० देखि वैशाख ६ सम्म १८ दिन भोजनको व्यवस्था गरेको छ । बैंकले आफ्नो अठारौं वार्षिकोत्सव यही वैशाख ७ गते मनाउँदै छ । भोटुस्इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशालालगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई बैंकले भोजन वितरण गरेको हो ।
साथै, बैंकले वार्षिकोत्सवको अवसरमा चैत्र २ गतेदेखि वैशाख ५ गतेसम्म सात वटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविरहरूको आयोजना गरेको छ । कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको हस्पिटललाइन र जीतपुर, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा स्वास्थ्य शिविरहरू आयोजना गरेको थियो । यी स्वास्थ्य शिविरहरूबाट करिब १७ सय जना बिरामीहरूले लाभ प्राप्त गरेका छन् ।
हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरू गर्नुका साथै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ । बैंकले देशैभर ६१ जिल्लामा फैलिएका आफ्ना दुई सय वटा शाखा, एक सय ६८ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १८ लाख ७९ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।