काठमाडौं । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४१ अर्ब २५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । बैंकहरूको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव ४० प्रतिशत बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकहरूले ४० अर्ब ६८ करोड २९ लाख रुपैयाँ नाफा कमाएका थिए ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये ११ वटाको नाफा बढेको छ भने नौवटाको घटेको छ । नबिल बैंक, ग्लोबल आईएमई, नेपाल बैंक, एभरेष्ट, माछापुच्छ्रे बैंक सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक र लक्ष्मी सनराइज बैंकको नाफा बढेको छ । सिद्धार्थ बैंक, कृषि विकास बैंक, स्टान्र्डड चार्टर्ड बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्राइम कमर्सियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, हिमालयन बैंक र एनआईसी एसिया बैंकको नाफा घटेको छ ।
नबिल बैंकले सबैभन्दा धेरै पाँच अर्ब पाँच करोड १४ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा नबिलको निष्क्रिय कर्जा (एनपीएल) एक दशमलव ५९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा नबिलले चार अर्ब ६६ करोड ८० लाख २९ हजार रुपैयाँ नाफा कमाएको थियो भने निष्क्रिय कर्जा एक दशमलव २७ प्रतिशत थियो ।
नबिलपछि धेरै नाफा कमाउने बैंक ग्लोबल आईएमई बैंक रहेको छ । ग्लोबल आईएमई बैंकले तेस्रो त्रैमाससम्म चार अर्ब ७१ करोड सात लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा ग्लोबल आईएमईको निष्क्रिय कर्जा चार दशमलव ९८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा ग्लोबलले तीन अर्ब २६ करोड ९३ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो भने निष्क्रिय कर्जा एक दशमलव ७० प्रतिशत थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चार अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ । यस्तै निष्क्रिय कर्जा एक दशमलव ५३ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपाल इन्भेष्टमेन्टको नाफा तीन अर्ब २७ करोड रुपैयाँ थियो भने निष्क्रिय कर्जा एक दशमलव १२ प्रतिशत थियो ।
एभरेष्ट बैंक र नेपाल बैंकले क्रमशः तीन अर्ब ४५ करोड ७६ लाख र दुई अर्ब ७८ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । यस्तै यी दुई बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ६४ र पाँच दशमलव ५५ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले क्रमशः दुई अर्ब ६० करोड ८४ लाख र १३ करोड पाँच लाख रुपैयाँ नाफा कमाएका थिए भने निष्क्रिय कर्जा शून्य दशमलव ७० र चार दशमलव ८५ प्रतिशत थियो ।
एनएमबी बैंक, प्राइम कमर्सियल र स्टान्र्डर्ड चार्टर्ड बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा क्रमशः दुई अर्ब ३७ करोड ३२ लाख, दुई अर्ब २२ करोड ९३ लाख र दुई अर्ब १७ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । यस अवधिमा यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः चार दशमलव ४७, पाँच दशमलव ६५ र एक दशमलव ४४ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले क्रमशः दुई अर्ब १४ करोड १५ लाख, दुई अर्ब ६७ करोड ८७ लाख र दुई अर्ब ४४ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा कमाउँदा निष्क्रिय कर्जा क्रमशः दुई दशमलव ८६, चार दशमलव २९ र दुई दशमलव १४ प्रतिशत थियो ।
एनआईसी एसिया, सानिमा र प्रभु बैंकले क्रमशः १५ करोड ६७ लाख ७० हजार, एक अर्ब ६५ करोड २४ लाख ७६ हजार र एक अर्ब ८७ करोड ६० लाख ६० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः पाँच दशमलव ७५, तीन दशमलव ४२ र पाँच दशमलव शून्य नौ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले क्रमशः एक अर्ब ९१ करोड ४५ लाख, एक अर्ब ४३ करोड ९४ लाख र एक अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद मुनाफा कमाउँदा निष्क्रिय कर्जा क्रमशः तीन दशमलव शून्य आठ, एक दशमलव ८९ र चार दशमलव ८१ प्रतिशत थियो ।
सिद्धार्थ बैंक, कृषि विकास बैंक र लक्ष्मी सनराइज बैंकले क्रमशः एक अर्ब ६८ करोड ८२ लाख, एक अर्ब ८४ करोड ४४ लाख र एक अर्ब ६५ करोड २१ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । यस्तै निष्क्रिय कर्जा क्रमशः चार दशमलव शून्य चार, चार दशमलव ९८ र पाँच दशमलव ८६ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले क्रमशः एक अर्ब ६८ करोड ४० लाख, दुई अर्ब पाँच करोड ३१ लाख र एक अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा कमाउँदा निष्क्रिय कर्जा क्रमशः दुई दशमलव ५२, तीन दशमलव ३० र पाँच दशमलव ४९ प्रतिशत थियो ।
कुमारी बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंकले क्रमशः २८ करोड ५८ लाख, एक अर्ब १० करोड २५ लाख र एक अर्ब २० करोड ३२ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । यस्तै यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः छ दशमलव ९६, चार दशमलव ५९ र चार दशमलव शून्य छ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले क्रमशः एक अर्ब पाँच करोड २७ लाख, ८५ करोड ५४ लाख र एक अर्ब १६ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा कमाएका थिए भने निष्क्रिय कर्जा क्रमशः चार दशमलव ९५, तीन दशमलव ६८ र एक दशमलव ९८ प्रतिशत थियो ।
राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र हिमालयन बैंकले क्रमशः एक अर्ब २० करोड ४३ लाख, ९६ करोड ८९ लाख १३ हजार र ५० करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् । यी बैंकहरूको निष्क्रिय कर्जा क्रमशः चार दशमलव ६९, पाँच दशमलव ७१ र सात दशमलव ६८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले क्रमशः दुई अर्ब ३७ करोड ४८ लाख, एक अर्ब २१ करोड १४ लाख र एक अर्ब ९४ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा कमाएका थिए भने निष्क्रिय कर्जा क्रमशः चार दशमलव ३०, तीन दशमलव ७६ र चार दशमलव ९६ प्रतिशत थियो ।