काठमाडौ । आठौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप २०८२ अन्तर्गतका विजेताले शनिबार नगद पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
नेपाल स्केटिङ तथा स्केट बोर्डसंघद्वारा वार्षिकरूपमा आयोजना हुने गरेको सो च्याम्पियनसिपमा महिला खुलातर्फ खुसी विक प्रथम, लेमन मगर दोस्रो र समीक्षा राईले तेस्रो स्थान प्राप्त गरिन् ।
यस्तै, खुला पुरुषतर्फ गजेन्द्र बर्देवा प्रथम, शरद राई दोस्रो र वसन्त राई तेस्रो भए ।
यस्तैगरी, पुरुष जुनियरतर्फ अभिषेक परियार प्रथम, अंकित विक दोस्रो र अविनाश कुमाल तेस्रो भएको स्केटिङ तथा स्केट बोर्ड संघका सचिव दिनेश बजगाईंले बताए ।
खुलातर्फको प्रतियोगिताका प्रथमले २५ हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपैयाँ पुरस्कार पाएका थिए । यस्तै, जुनियरतर्फ प्रथमले १० हजार, दोस्रोले पाँच र तेस्रोले तीन हजार रुपैयाँ पुरस्कार हात पारेका छन् ।
तीनैवटै विधाका विजेता खेलाडीहरूलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल स्केटिङ तथा स्केट बोर्डका अध्यक्ष अच्युत खनाल, संघका सल्लाहकार तथा प्रशिक्षक दिलिपराज बराललगायतले नगद पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।