काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नेपालमै पहिलोपटक क्रस बैंक टेलर क्युआर भुक्तानी सेवा र सिटिजन्स फ्रिलाइन्सर सेभिङको सुरुवात गरेको छ । २०६४ साल वैशाख ७ गते २० औँ वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपमा ग्राहकहरूमाझ उत्कृष्ट सेवा पुर्याँउदै आएको बैंकले वैशाख ७ गते १८ वर्ष पूरा गरि १९ वर्षमा प्रवेश गरेको अवसरमा आफ्नो १८ औँ वार्षिकोत्सव मनाउने क्रममा उक्त सेवाको सुरुवात गरेको हो ।
१८ वर्षको अवधि पार गरिसक्दा बैंकले १८ लाख ७९ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय सञ्चालनका साथै दुई सय वटा शाखामार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कुल निक्षेप करिब दुई खर्ब दुई अर्ब रहेकोमा कर्जातर्फ एक खर्ब ७३ अर्ब परिचालन गरेको छ । बैंकले १८ औँ वार्षिकोत्सवको अवसरमा आज वैशाख ७ गते बिहानै सातवटै प्रदेशमा करिब नौ सय २१ कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखीकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै, संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले रक्तदान नै जीवनदान भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केही हदसम्म भए पनि पूरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाइटी र हिमाल हस्पिटलसँगको सहकार्यमा सातवटै प्रदेशका कुल ३३ शाखाबाट करिब नौ सय १३ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ ।
डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राखी ‘ब्रिक्स बैंकिङ टु क्लिक बैंकिङ’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ट्याप एन्ड पे सेवा तथा नेपालमै पहिलोपटक क्रस बैंक टेलर क्युआर भुक्तानी सेवा सञ्चालनमा ल्याइएको छ । सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ सेवामार्फत अफलाइन माध्यमबाट नै पाँच हजारसम्मको भुक्तानी ट्याप एन्ड पेमार्फत सहजरूपमा गर्न सक्नुहुनेछ । साथै, बैंकले नेपालमै पहिलोपटक क्रस बैंक क्युआर टेलर प्रणालीको सुरुवात गरी अन्य बैंकका ग्राहकहरूले नजिकैको सिटिजन्स बैंकको शाखा काउन्टरमा गई आफ्नो बैंकको मोबाइल बैंकिङमार्फत क्रस बैंक क्युआर टेलरलाई स्क्यान गरेर तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् । यस प्रकारको सेवाले भुक्तानी प्रक्रियालाई झनै द्रूत र सुरक्षित बनाई ग्राहकलाई सुविधाजनक सेवाको अनुभव प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ ।
यही अवसरमा बैंकले नयाँ बचत खाता सेभ लोकल, अर्न ग्लोबल सिटिजन्स फ्रिलान्सर सेभिङ एकाउन्ट भन्ने नाराका साथ सञ्चालनमा ल्याएको छ । यो खाता विशेषगरी फ्रिल्यान्सरहरूको वित्तीय आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको हो । यस खाताका ग्राहकहरूलाई दुवै नेपाली रुपैयाँ र अमेरिकी डलर बचत खाता खोल्ने सुविधा प्रदान गरिएको छ । साथै, दुवै बचत खाताहरूमा उच्चतम व्याजदर पनि प्रदान गरिएको छ । यस बचत खातामा पहिलो वर्षको लागि स्वास्थ्य उपचार बीमा २५ हजारसम्म (ओपीडी सेवा पाँच हजारसम्म) दुर्घटना मृत्यु बीमा तीन लाखसम्मलगायत निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड र डिम्याट खाता सुविधाहरू समावेश गरिएको छ ।