काठमाडौं । गणित विषयलाई अझै पनि परम्परागतरूपमा नै पढाउने गरिएको छ । गणित प्रायःजसो कण्ठ गराउँदै र विभिन्न फर्मुलामा केन्द्रित भई पढाउने गरिन्छ । त्यसले विद्यार्थीहरूमा गणितप्रति इच्छा जाग्नुभन्दा डर उत्पन्न गरिरहेको छ । विद्यार्थीलाई वास्तविक जीवनमा गणितको प्रयोगलाई प्रोत्साहित गर्न इम्बार्क अनम्याथले फरक तरिका ल्याएको छ ।
इम्बार्कका अनुसार गणितलाई संगीत, कला, वास्तुकला र खेलकुदसँग जोड्दै गणितलाई केवल एउटा विषय मात्र नभई दैनिक जीवनको अभिन्न हिस्सा बनाउने लक्ष्य लिएको छ । प्रकृतिदेखि हाम्रा हरेक वित्तीय निर्णयका पछाडि गणितको तर्क जोडिएको हुन्छ । तर परम्परागत शिक्षण प्रक्रियाले उक्त कुराहरू जोड्न सकिरहेको छैन । इम्बार्क अनम्याथले भने उक्त समस्यालाई औँल्याउँदै विद्यार्थीलाई व्यावहारिक ज्ञान सिकाउँछ, जसले उनीहरूलाई गणितले कसरी हाम्रो संसारलाई आकार दिन्छ भन्ने बुझ्नमा मद्दत पुर्याउँछ ।
परम्परागत शैक्षिक प्रणालीमा हाबी रहेको नेपालमा इम्बार्क अनम्याथको नयाँ तरिकाले राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । यस्तो कार्यक्रम अपनाएका स्कुलहरूले गणितमा विद्यार्थीको संलग्नता बढ्नुका साथै उनीहरूको आत्मविश्वासमा सुधार भएको बताएका छन् । अप्ठ्यारा फर्मुलाको सट्टा वास्तविक जीवनमा लागू हुने प्रयोगहरूमा ध्यान केन्द्रित गरेर विद्यार्थीलाई गणितको डर हटाउन र समस्या समाधान गर्ने सिपहरू सिकाउन इम्बार्क अनम्याथले मद्दत गर्ने बताइएको छ ।
इम्बार्क अनम्याथले कण्ठ गर्ने वा सधैँ सही उत्तर नै निकाल्नुपर्छ भन्ने मान्यताले उत्पन्न गर्ने गणित विषयको मानसिक तनावसँग पनि लड्न मद्दत गर्छ । इम्बार्क अनम्याथका माध्यमले कठिन अभ्यासको सट्टामा अन्तर्क्रियात्मक र वास्तविक संसारका अध्ययन अनुभवलाई प्रोत्साहन गरेर विद्यार्थीहरू गणितको डरलाई जिज्ञासामा परिवर्तन गर्न सक्षम हुनेछन् । संस्थाले सरकार र शैक्षिक बोर्डहरूसँग सहकार्य गरी गणितको फरक अध्ययन माध्यमलाई मुख्य पाठ्यक्रममा समावेश गर्ने लक्ष्य राखेको छ ।