काठमाडौँ । नेपाल प्रगतिशिल प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको सोमबार कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आह्वान गरेका छन् ।
अहिलेको सरकार लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने, “शिक्षकहरूको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ, शिक्षकहरूलाई लाभ छैन । त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस् । प्रतिगामी तत्त्वहरु सल्बनाएका बेला तपाईँहरूले आन्दोलन गर्ने उपयुक्त समय पनि यो होइन ।’’