काठमाडौं । विकास बैंकहरूको खराब ४५ प्रतिशतसम्म पुगेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरणअनुसार विकास बैंकहरूको खराब कर्जा शून्य दशमलव ७८ प्रतिशतदेखि ४४ दशमलव ९६ प्रतिशतसम्म छ ।
सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूमध्ये हालसम्म १२ वटाले तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सबैभन्दा कम खराब कर्जा मितेरी डेभलपमेन्ट बैंकको छ भने सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकको छ । नारायणी डेभलपमेन्ट बैंक क्षेत्रीय स्तरको विकास बैंक हो । मितेरी डेभलपमेन्ट बैंकको खराब कर्जा शून्य दशमलव ७८ प्रतिशत छ भने नारायणीको ४४ दशमलव ९६ प्रतिशत छ । तेस्रो त्रैमाससम्म मितेरीले नौ करोड २४ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाउँदा नारायणीले एक करोड २६ लाख ७४ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा मितेरीले छ करोड ८२ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो भने नारायणी ४२ लाख ७१ हजार रुपैयाँ नोक्सानीमा थियो । एक वर्षअघि मितेरीको खराब कर्जा दुई दशमलव ६३ प्रतिशत र नारायणीको ३१ दशमलव ७७ प्रतिशत थियो ।
यस आर्थिक वर्षको तेस्रो त्रैमासमा मुक्तिनाथ विकास बैंकले ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा चार दशमलव ४१ प्रतिशत खराब कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकले ८७ करोड १८ लाख २५ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा दुर्ई दशमलव शून्य दुई प्रतिशत खराब कर्जा थियो ।
कामना सेवा, महालक्ष्मी र साँग्रिला डेभलपमेन्ट बैंकले क्रमशः ४९ करोड ३१ लाख ८४ हजार रुपैयाँ, ४३ करोड ६५ लाख ५९ हजार रुपैयाँ र ४३ करोड ४२ लाख १८ हजार रुपैयाँ नाफा कमाएका छन् । यस अवधिमा यी बैंकहरूको खराब कर्जा क्रमशः चार दशमलव २७ प्रतिशत, चार दशमलव ९९ प्रतिशत र चार दशमलव ९७ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले क्रमशः ३३ करोड १३ लाख ६३ हजार रुपैयाँ, ३७ करोड ५५ लाख ५१ हजार रुपैयाँ र २६ करोड ९३ लाख ८९ हजार रुपैयाँ नाफा कमाएका थिए भने खराब कर्जा क्रमशः तीन दशमलव ५३ प्रतिशत, चार दशमलव १६ प्रतिशत र तीन दशमलव ८४ प्रतिशत थियो ।
गरिमा विकास बैंक र ज्योति विकास बैंकले पनि यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म क्रमशः ३३ करोड ३४ लाख ९१ हजार रुपैयाँ र ३० करोड ६६ लाख ११ हजार रुपैयाँ नाफा कमाएका छन् । यी दुई बैंकको खराब कर्जा क्रमशः चार दशमलव ७८ प्रतिशत र एक दशमलव ३७ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले क्रमशः छ करोड ८३ लाख ४२ हजार रुपैयाँ र १५ करोड २४ लाख ३३ हजार रुपैयाँ नाफा कमाएका थिए भने खराब कर्जा दुई दशमलव ९७ प्रतिशत र एक दशमलव ६६ प्रतिशत थियो ।
सिन्धु र लुम्बिनी विकास बैंकले क्रमशः सात करोड ८४ लाख ५१ हजार रुपैयाँ र चार करोड ९७ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । यी बैंकहरूको खराब कर्जा आठ दशमलव ६४ प्रतिशत र सात दशमलव १८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा सिन्धुले पाँच करोड ४० लाख ७९ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा लुम्बिनीले ३४ करोड २१ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो भने खराब कर्जा क्रमशः तीन दशमलव ६५ र तीन दशमलव ६९ प्रतिशत थियो ।
ग्रीन डेभलपमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैंकले यस आर्थिक वर्षको तेस्रो त्रैमासमा क्रमशः दुई करोड १२ लाख ८४ हजार र एक करोड ७७ लाख ८१ हजार रुपैयाँ नाफा कमाएका छन् । यस अवधिमा यी बैंकहरूको खराब कर्जा क्रमशः चार दशमलव ८७ प्रतिशत र १३ दशमलव शून्य नौ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी दुई बैंकले क्रमशः एक करोड ८१ लाख २५ हजार रुपैयाँ र आठ लाख ७२ हजार रुपैयाँ नाफा कमाएका थिए भने खराब कर्जा क्रमशः पाँच दशमलव ८६ प्रतिशत र चार दशमलव ९५ प्रतिशत थियो ।