काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा शनिबार मस्र्याङ्दी रिभर भ्यु रिसोर्ट, बन्दिपुर–५, तनहुँमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन पास गरेको छ ।
साधारणसभामा ५६ दशमलव १९ प्रतिशत सेयर सदस्यको उपस्थिति रहेको थियो । राष्ट्रियस्तर कार्यक्षेत्र भई ४४ जिल्लामा कार्यक्रम विस्तार गरेको सम्पदा लघुवित्तको चुक्तापुँजी ७० करोड आठ लाख ५८ हजार तीन सय ४५ रुपैयाँ रहेको छ । वित्तीय संस्थाको साधारणसभाले पारित गरेकोे वित्तीय विवरणअनुसार पुँजीकोष आठ दशमलव १५ प्रतिशत, खराब कर्जा चार दशमलव ८०, ईपीएस १० रुपैयाँ ४८ पैसा, खुद नाफा सात करोड ३४ लाख २१ हजार ९० रुपैयाँ रहेको सम्पदा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी गराए । एक सय ५५ शाखा रहेको सम्पदा लघुवित्तमा एक लाख ७७ हजार नौ सय दुई जना सदस्य रहेका छन् भने ७६ हजार नौ सय २० ऋणी रहेको प्रमुख कार्यकारी अधिकृत पौडेलले साधारणसभामा जानकारी गराएका थिए ।