काठमाडौं । मेटलाइफ नेपालले आफ्नो नवीनतम बीमा योजना ‘डबल प्रोटेक्सन प्लस’ सार्वजनिक गर्दै नेपाली बीमा क्षेत्रमा नयाँ कीर्तिमान स्थापना गरेको छ । विश्वसनीय उच्च बीमा सुरक्षा र स्मार्ट बचतलाई एउटै योजनामा समेटिएको यो प्रकारको बीमा नेपालमा पहिलो नवप्रवर्तित बीमा हो, जुन शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएको केही समयमै यसमा ग्राहकको प्रतिक्रिया अत्यन्त उत्साहजनक रह्यो । सुरुको एक घण्टामै एक सय वटा पोलिसी बुक भएर मेटलाइफको गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताप्रति ग्राहककोे विश्वास रहेको पुष्टि हुन्छ ।
डबल प्रोटेक्सन प्लस योजनाले ग्राहकलाई डबल बीमा सुरक्षा, लचिलो प्रिमियम भुक्तानी विकल्पहरू र आकर्षक दीर्घकालीन बचत सुविधाहरू प्रदान गर्छ । ग्राहकले एकमुष्ट प्रिमियम भुक्तानी वा केवल पाँच वा १० वर्षको सीमित अवधिको प्रिमियम भुक्तानी विकल्प रोज्न सक्छन् । जसअनुसार योजना अवधिभर बीमा सुरक्षा पाइन्छ । यो योजना १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरूका लागि उपलब्ध छ र ७५ वर्षसम्मको बीमा सुरक्षा सुनिश्चित गर्छ । लचिलोपन र भरपर्दो बीमा सुरक्षाले गर्दा यो योजना आजको मितिमा बजारमा उपलब्ध सबैभन्दा आकर्षक सुरक्षा तथा बचत योजनामध्ये एक बनेको छ ।
यस योजनाको मुख्य विशेषता हो डबल बीमाङ्क रकमको लाभ । यदि योजना अवधिमा दुर्घटना वा रोगका कारण बीमित व्यक्तिको मृत्यु वा पूर्ण तथा स्थायी अपाङ्गता वा असक्तता भएमा इच्छाइएको व्यक्ति वा बीमित व्यक्तिलाई बीमाङ्कको दोब्बर रकम एकमुष्टरूपमा प्रदान गरिन्छ । साथै, यस योजनामा दुई विशेष लाभहरू पनि छन्ः बुस्टर फन्ड लाभ–मेटलाइफको सेग्रेगेटेड फन्डको लगानी प्रतिफलको आधारमा, पहिलो बीमालेख वार्षिकोत्सवदेखि प्रत्येक वर्ष प्रदान गरिने वार्षिक भुक्तानी र लयाल्टी रिवार्ड लाभ–बीमित व्यक्तिको जीवन अवधिमा हरेक पाँच वर्षको अन्तमा बीमा अवधिको अन्त्य सम्म सुनिश्चित रूपमा प्राप्त हुने लाभ ।
यस कार्यक्रममा बोल्दै मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने ‘हामी सबैका लागि यो एक गौरवको क्षण हो । डबल प्रोटेक्सन प्लस योजनासँग हामी केवल एउटा नयाँ उत्पादन मात्र ल्याइरहेका छैनौँ । हामी नेपाली परिवारहरूलाई मानसिक शान्ति र वित्तीय सुरक्षाको अनुभव दिलाइरहेका छौँ । भविष्यप्रति विश्वास जगाउने र सुरक्षित बनाउने हाम्रो उद्देश्यलाई यो योजनाले साकार बनाउनेछ ।’ अद्वितीय विशेषता र सफल सुरुवातका साथ डबल प्रोटेक्सन प्लस योजना नेपालकै सबैभन्दा भरपर्दो सुरक्षा तथा बचतको समाधान बन्ने सम्भावनाका साथ अघि बढिरहेको छ ।