नयाँदिल्ली । संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भान्स भारतको पहिलो आधिकारिक भ्रमणका लागि नयाँदिल्ली आइपुगेका छन् । उपराष्ट्रपति भान्सको चार दिने भ्रमण सोमबारदेखि बिहीबारसम्म जारी रहने जनाइएको छ । परिवारसँगै भारत भ्रमणमा आएका उपराष्ट्रपति भान्सलाई केन्द्रीय मन्त्री अश्विनी वैष्णवले विमानस्थलमा स्वागत गरेका थिए ।
उपराष्ट्रपति भान्सले सोमबार साँझ नै प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन् । भेटवार्तामा आर्थिक सहयोग, रक्षा सहयोग र द्विपक्षीय व्यापार सम्बन्धलगायतका विभिन्न सवालमा छलफल भएको बताइएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले गत हप्ता मिडिया ब्रिफिङमा आफूहरूबीच विश्वव्यापी रणनीतिक साझेदारी रहेको उल्लेख गर्दै निःसन्देह सबै सान्दर्भिक सवालहरूमा छलफल हुने र सम्बन्ध थप प्रगाढ हुने बताएका थिए । नयाँदिल्ली भ्रमणपछि भान्स परिवार जयपुर प्रस्थान गरेका छन् । आज मंगलबार जयपुर र बुधबार आगरा भ्रमण गर्ने र बिहीबार भारतबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।