मध्यविन्दु (नवलपरासी) । नारायणगढ–बुटवल सडकखण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सुक्खा पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले उक्त क्षेत्रमा अहिले दुवैतर्फ यातायात सेवा पूर्णरूपमा अवरुद्ध रहेकोले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको बताए । अहिले सयौँ सवारीसाधन दाउन्ने क्षेत्रमा जाममा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जाराले पहिरो खसिरहेकाले भित्ता काटेर सडक बनाउनुपर्ने अवस्था रहेको बताए । दाउन्ने क्षेत्रमा कालोपत्र सडक खनेर विस्तार गर्ने कार्य भइरहेको थियो । त्यसैमाथि मंगलबार सुक्खा पहिरो खसेको हो । दाउन्ने खण्डमा हाल सडक विस्तारका लागि दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर काम गर्ने गरिएको छ ।