काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन झण्डै आठ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन नौ दशमलव ९६ अंकले ओरालो लागेर २६ सय ८८ दशमलव ३२ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९१ अंकले ओरालो लागेर चार सय ५१ दशमलव ८९ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १९ वटा कम्पनीहरुको ७१ हजार छ सय ९४ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड २५ लाख ५५ हजार सात सय १३ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ३२ करोड १२ लाख ८२ हजार एक सय ८८ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यन, उत्पादनमुलक र अन्य उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।