काठमाडौँ । विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप परिवर्तन गर्न बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह गरेको छ ।
नेपाल शिक्षक महासङ्घको गत चैत २० दिनदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा प्रभावित हुँदै आएको छ ।
“तपाईंहरुका जायज माग हरु पूरा हुनुपर्छ । हामीले नि त्यही नै भनेको छौँ तर आन्दोलन निरन्तरता दिए पनि स्वरूप फेर्नुहोस् ।” सिजपका महासचिव तिलोत्तम पौडेलले भने, “शिक्षाको आधारभूत प्रवेश भर्ना अभियान, बाँकी भएकाको नतिजा प्रकाशन र कक्षा १२ को परीक्षा नरोक्न आवश्यक विकल्प खोज्नुहोस् । बालबालिकाको अधिकारप्रति थप सचेत हुनुहोस् ।”
नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले यही वैशाख ५ गते बेग्लाबेग्लै भेट गरी जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका थिए ।