काठमाडौं । नेपाल बीमा प्राधिकरण र चीनको सिचुवान प्रान्तअन्तर्गतको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेसनबीच सिचुवान प्रान्तको छेङ्दुमा सोमबार स्वास्थ्य बीमासम्बन्धी उच्चस्तरीय छलफल सम्पन्न भएको छ ।
नेपालबाट नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेतृत्व गरेको टोली र चीनबाट सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेसनका उपमहानिर्देशक झाङ हेफेङ नेतृत्वको टोलीबीच स्वास्थ्य बीमा, स्वास्थ्य बीमा प्रणाली, स्वास्थ्य बीमासम्बन्धी नीति तथा संरचना र स्वास्थ्य सुरक्षणलगायतका विषयमा छलफल भएको हो ।
कार्यक्रममा स्वास्थ्य बीमाको दिगोपन सुनिश्चित गर्ने उपाय, भुक्तानी प्रणालीमा सुधार, बीमाले प्रदान गर्ने रक्षावरण, निजी क्षेत्रद्वारा सञ्चालित स्वास्थ्य बीमा योजना, नागरिकहरूलाई सहज र सुलभ सेवा प्रदान गर्ने विधि, स्वास्थ्य सुरक्षामा सार्वजनिक र निजी क्षेत्रको सहकार्य, सेवा प्राप्तिमा पारदर्शिता, बीमाप्रतिको विश्वास अभिवृद्धि र डिजिटल प्रविधिको प्रयोगमार्फत स्वास्थ्य बीमाको प्रभावकारिता अभिवृद्धिलगायतका विषयमा विस्तृत छलफल भएको थियो ।
कार्यक्रममा चीनको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेसनका उपमहानिर्देशक झाङ हेफेङले सिचुवान प्रान्तमा स्वास्थ्य सुरक्षालाई तीन भागमा वर्गीकरण गरी पहिलो चरणमा बेसिक हेल्थ केयर सुविधा, दोस्रोमा थप प्रिमियम तिर्दा घातक रोगको उपचार सुविधा र तेस्रो चरणमा मेडिकल एसिस्टेन्सको व्यवस्था रहेको जानकारी दिए ।
उपमहानिर्देशक झाङले संस्थाको आर्थिक अवस्थाअनुसार नागरिकलाई दिइने सुविधा थप गर्ने गरिएको उल्लेख गर्दै सरकारी स्वास्थ्य सुरक्षा योजनाले जोखिम नव्यहोर्ने रोगको उपचारका लागि नागरिकले स्वास्थ्य बीमा खरिद गर्ने गरेको र सरकारी स्वास्थ्य सुरक्षा तथा आधारभूत सेवाअन्तर्गत नियमित प्रयोग हुने औषधि तथा आधारभूत मेडिकल सेवा प्रदान गर्ने गरिएको बताए । साथै, उनले गलत तथा फर्जी दाबी रोक्न आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउँदै गलत दाबी गर्ने स्वास्थ्य संस्थालाई उच्च जरिवानाका साथै कडा कारबाहीको व्यवस्था गरिएको उल्लेख गरे । उपमहानिर्देशक झाङले सरकारी स्वास्थ्य सुरक्षाअन्तर्गत संस्थाको वित्तीय अवस्था तथा सरकारले गर्ने आर्थिक सहायताका आधारमा सेवा थप गर्ने गरिएको र निजी क्षेत्रका बीमा कम्पनीले बिक्री गर्ने बीमामा धेरै सुविधाहरू रहेको जानकारी दिए ।