काठमाडौं । एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ मा भएको कानुनी व्यवस्थाबमोजिम एनसेल सूचीकृत भएको हो । विभागले कम्पनीको प्रत्यक्ष निरीक्षण तथा कम्पनीबाट पेश भएको निवेदन तथा कागजातको गहन अध्ययन गर्दा कम्पनीले तोकेको सञ्चालन मापदण्ड तथा सुरक्षा अनुशरण गरेको देखिएकाले कम्पनीलाई सूचीकृत गरिएको हो । निर्देशिकाअनुसार सञ्चालनमा रहेका डाटा सेन्टर र क्लाउड सेवा प्रदायकले छ महिनाभित्रै विभागमा सूचीकृत भइसक्नुपर्ने प्रावधान रहेको थियो । एनसेलले सो अवधिभन्दा पहिला नै आफूलाई सूचीकृत गराएको हो ।
यो निर्देशिका २०८१ माघ १५ गतेको सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएपछि कार्यान्वयनमा आएको थियो । निर्देशिकाले सेवा प्रदायकहरूको लागि सुरक्षा, गोपनियता र पूर्वाधारलगायतका महत्वपूर्ण क्षेत्रहरूमा नियमहरू निर्धारण गरेको छ । डाटा सेन्टर र क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकृत हुनुपर्ने निर्देशिकाको व्यवस्थाबमोजिम एनसेलले आफूलाई यी दुवै सेवाका लागि छुट्टाछुट्टै सूचीकरण गराएको छ । सो सूचीकरणसँगै एनसेलले अब नयाँ कानुनी व्यवस्थाअनुसार पनि डाटा सेन्टर र क्लाउड सेवा सहजै प्रदान गर्न सक्ने पहिलो र एकमात्र कम्पनी बनेको छ ।
हाल एनसेलको ललितपुर, नख्खुमा बैंक, सरकारी निकाय र ठूला व्यावसायिक संस्थाले प्रयोग गर्न मिल्ने अत्याधुनिक टियर थ्री डाटा सेन्टर सञ्चालनमा रहेको छ । त्यसैगरी एनसेलले पोखरा र हेटौँडामा गरी दुई डिजास्टर रिकभरी डाटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ । एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले साइबर सुरक्षा, डेटा गोपनियतालाई उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गर्दै आएकोले सूचीकरणको प्रक्रिया सहज भएको बताए । ‘डाटा सेन्टर र क्लाउड सेवाहरूको बढ्दो बजारलाई ध्यानमा राख्दा, यो सूचीकरण अत्यन्त महत्वपूर्ण छ’, उनले भने । डिजिटल नेपाल भिजनअनुरूप एनसेल सूचना प्रविधि क्षेत्रको विकासमा योगदान पुर्याउन प्रतिबद्ध रहेको उनले बताए ।
सूचीकृत गर्ने प्रक्रियाका क्रममा विभागले आगलागी सुरक्षाको सुनिश्चितता, संस्थाको सुरक्षा र गोपनियता नीति, बिजनेस कन्टिन्युटी प्लान, डेटा सेन्टरको टियर, आईपी पुललगायतका कागजात तथा विवरणहरूको गहन अध्ययन गरेको थियो । सरकारले सूचना प्रविधि प्रणालीलाई भरपर्दो, सुरक्षित एवं प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशिका जारी गरेको थियो । डाटा सेन्टर र क्लाउड सेवा प्रदायकको सूचीकरणले यस क्षेत्रको नियमन, पारदर्शिता र साइबर सुरक्षालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । निर्देशकाले देशमा सूचना प्रविधि प्रणालीहरूको भरपर्दो, सुरक्षित र प्रभावकारी सञ्चालन सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।