काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनको अगुवा नेपाली कांग्रेस सन्निकट दुर्दशातर्फ उन्मुख भएको छ । कांग्रेसले संसद्मा सबैभन्दा ठूलो दल भएर पनि सरकारको नेतृत्व गर्न पाएको छैन । अहिले संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्रलाई सरकारबाट हटाएर दोस्रो ठूलो दल नेकपा एमालेलाई सरकारको नेतृत्व सुम्पिएको छ ।
एमाले अध्यक्ष केपी ओलीलाई कांग्रेसले प्रधानमन्त्री बनाएको १० महिना भइसकेको छ । सहमतिअनुसार अझै १४ महिना ओली नै प्रधानमन्त्री हुनेछन् । त्यसपछि मात्रै कांग्रेसको पालो आउने भनिएको छ । ओलीलाई प्रधानमन्त्री बनाउनुअघि कांग्रेसले तेस्रो दल माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको थियो । उनले कहिले कांग्रेस र कहिले एमालेसँग मिलेर प्रधानमन्त्री खाइरहने चालबाजी गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग सातबुँदै समझदारी गरेर आलोपालो सरकार चलाउने समझदारी गरेका हुन् ।
मुलुकमा तीन–तीन पटक प्रजातान्त्रिक संघर्षको नेतृत्व गरेर आफूलाई प्रजातान्त्रिक आन्दोलनको अगुवा साबित गरेको कांग्रेस अहिले आफैँ एक्लै उभिन नसक्ने कमजोर अवस्थामा पुगेको छ र कुनै न कुनै वामपन्थीको वैशाखीविना केही गर्न नसक्ने लङ्गडो बन्न पुगेको छ । एमाले छाडे माओवादीसँग, माओवादी छाडे एमालेसँग टाँसिनै पर्ने अवस्था छ । अरु साना दल जता सत्तासमीकरण हुन लाग्छ त्यतै दौडिने गरेका छन् । अन्तर्राष्ट्रिय शक्तिले त्यतै सोझ्याइदिने गरेकाले पनि उनीहरूले बुर्कुसी मार्ने गरेका छन् ।
कांग्रेस जहिले कमजोर हुन्छ त्यतिबेला प्रतिगामी र पुनरुत्थानवादी दक्षिणपन्थी शक्तिले टाउको उठाउने गरेको थियो । २०१७ सालअघि पनि मुलुकमा यस्तै अराजकता मच्चिएको थियो । पुनरुत्थानवादी शक्तिले कहिल्यै आफ्नै बलबुतामा परिर्वतन गर्दैनन्, यस्तै जमातमा उठेका जायज मागका बीचबाट निस्किएर आफ्नो स्वार्थ पूरा गर्नेगरेका छन् । अहिले उठेका शिक्षक आन्दोलन होस् वा डाक्टर आन्दोलन होस् अथवा मिटरब्याजपीडितको आन्दोलन नै किन नहोस् ती कुनै पनि गणतन्त्रविरुद्धको राजनीतिक आन्दोलन होइनन् तर त्यसको बीचबाट पुनरुत्थानवादी शक्तिले पनि सडकमा वितण्डा मच्चाएर ती आन्दोलनलाई माथ गर्न खोजेको देखिएको छ ।
सडकमा देखिएका जायज मागका आन्दोलनको बेलैमा सम्बोधन हुने हो भने प्रतिगामी आन्दोलन आफैँ खिइँदै जाने प्राय निश्चित छ । तर सरकारबाट त्यो काम तदारुकताका साथ भइरहेको छैन र सडकलाई अशान्त बनाउन बल प्रदान गरिरहेको छ । यो बेला कांग्रेसले ठोस धारणा ल्याउनुपर्ने हो । तर त्यस्तो धारणा ल्याउन सकिरहेको छैन ।
२०४६ को ऐतिहासिक जनआन्दोलनपछि कांग्रेस पसेका विभिन्न स्वार्थसमूहका घुसपैठीहरूले कांग्रेसलाई लगभग कब्जा गरेको अवस्था छ र एकाध बचेकुचेको नेतृत्वमा पनि त्यसको छाया परिसकेको छ । अहिलेको मिश्रित निर्वाचन प्रणालीअनुसार कुन दलको एकल बहुमत आउने अवस्था छैन । एकल बहुमत नभएपछि संसद्मा रहेको अर्को दलसँग गठबन्धन नगरी सरकार बनाउन सक्ने अवस्था रहेन यसअघि त कांग्रेसले वामपन्थी दलसँग तालमेल गरेरै निर्वाचन लगेको थियो तर अबको निर्वाचनमा कांग्रेसले कसैसँग तालमेल गरेर चुनाव नलड्ने घोषणा गरिएको छ ।
चुनावमा जानु मात्र ठूलो कुरा होइन, जित्नु पहिलो आवश्यकता हो । यसअघि एक्लै लडेर बहुमत ल्याएर शासन गरेको कांग्रेस एक्लै चुनाव लड्ने आँट समेत गर्न नसक्ने अवस्थामा पुग्नु आफैँमा लाजमर्दो अवस्था हो । कांग्रेसको अहिलेको नेतृत्वले इतिहासमै पार्टीलाई अत्यन्त कमजोर अवस्थामा पु¥याएको छ र कुनै पनि निर्वाचन एक्लै लड्न नसक्ने अवस्थामा पुर्याएको छ । हुन त कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आउँदो आम निर्वाचनमा कांग्रेसले कसैसँग तालमेल नगर्ने घोषणा गरेका हुन् । यसअघि संघीय संसद् प्रदेश र स्थानीय तहमा अरु दलसँग तालमेल गरेर चुनाव लडेको कांग्रेसले अब अरु पार्टीका उम्मेदवारलाई भेट हाल्न नपर्ने कुरा सुन्दा सामाजिक सञ्जाल रङ्गाएका पनि हुन तर यथार्थ त्यस्तो छैन । कांग्रेसले एक्लै चुनाव लड्ने सामार्थ्य र हैसियत गुमाइसकेको छ ।
आम निर्वाचनमा जाने आधार विभिन्न पेशागत संघ–संगठनहरू हुने गर्दछन् । त्यस्ता संघ–संघठनमा पनि कांग्रेस एक्लैले चुनाव लडेको छैन र सबैमा कोही न कोहीसँग तालमेल गर्दै आएको छ । जस्तो कि हालै सम्पन्न स्ववियु निर्वाचनमा कांग्रेसको भातृ संस्था नेविसंघले सत्ता साझेदार एमालेको भातृसंस्था अनेरास्ववियुसँग तालमेल गरेको थियो । त्यस्तै नेपाल पत्रकार महासंघ नेपाल बार एसोसिएसनको निर्वाचनमा पनि तालमेल गरेर बहुमत दिएर अल्पमतमा चित्त बुझाएर नेतृत्वमा पुगेको छ । यी निर्वाचन मिनी जनमत संग्रह मानिन्छन् अहिले कांग्रसले यति मात्र होइन, एउटा उपभोक्ता समितिमा पनि तालमेल नगरी एक्लै चुनाव लड्न छाडेको छ । यस्तो लङ्गडो र अपाङ्ग अवस्थामा पुगेको कांग्रेसले एक्लै चुनाव लड्ने कल्पना ‘मेरो बाजेले घ्यू खाएका थिए, मेरो हात सुँघ’ भनेजस्तै हो ।
कांग्रेस अरुको कारण होइन, आफ्नै नेतृत्वको कारण यस्तो कमजोर अवस्थामा पुगेको हो । शिक्षक, विद्यार्थी, प्राध्यापक, पत्रकार, वकिल, इन्जिनियर, डाक्टर, नर्स, आदि इत्यादि कसैको चुनावमा एक्लै चुनाव लड्ने हैसियत गुमाएको कांग्रेसले आम निर्वाचन एक्लै डलेर जित्ने सामथ्र्य राख्दैन । त्यसमा जित्न त यस्त निर्वाचनमा एक्लै उठेर जित्नुपर्दछ । जुन यसअघि कांग्रेसले गर्नेगरेको थियो । कांग्रेस यसरी कमजोर हुन पुग्नुमा उसको वैचारिक विचलन भएर होइन, हिजो पनि प्रजातन्त्र, राष्ट्रियता, समाजवाद, भन्थ्यो । अहिले पनि त्यही भन्छ । कांग्रेस यसरी स्खलित हुनुको कारण उसको अपरिपक्क, कच्चा र अविश्वासिलो नेतृत्व हो ।
सबैलाई समेट्नेभन्दा पनि सामाजिक सञ्जालमा रमाउने, झुटमुट बोलेर दर्शक बढाउने कच्चा व्यक्तिहरूको नेतृत्वका कारण कांग्रेसप्रतिको मोह भङ्ग हुँदै गएको हो र जनताको मन जित्ने आधार गुमाउँदै गएको हो । सभापति शेरबहादुर देउवा अनिवार्य अवकाशमा जाने मिति नजिकिँदै आउँदा उनको कार्यसमितिका अहिलेका पदाधिकारीको कार्य क्षमता प्रजातान्त्रिक आन्दोलनको योगदान, भावी रणनीतिको सोच, वर्तमानको क्रियाकलाप हेरेर पनि कांग्रेस खस्किँदै गएको छ र दिनदिनै ओरालोलाग्दो अवस्थामा छ ।
यस्तै अवस्थामा पुगेको लङ्गडो कांग्रेसले कसैको वैशाखी नटेकी एक्लै चुनाव जितेर देखाउँछौ भनेर भाषण गर्दा कर्णप्रिय लाग्ला, ताली पनि बज्लान् तर यथार्थ त्योभन्दा फरक छ । अब कांग्रेसले एक्लै चुनाव लडेर जित्ने आधार छैन । पहिलो कुरा अहिले मिश्रित निर्वाचन प्रणालीमा रहेको समानुपातिक व्यवस्थाले एकल बहुमत दिँदैन । दोस्रो कुरो कांग्रेसको अहिलेको नेतृत्वप्रति जनताको विश्वास गिर्दो अवस्थामा छ । तेस्रो कुरा कांग्रेसबाहेकका विपक्षी खासगरी बामपन्थीहरू कुनै पनि बेला तालमेल गरेर जान सक्दछन् । त्यसका लागि घाँडो भएका केपीलाई बिदा गरेर विद्या भण्डारीले एमाले नेतृत्व लिएमा पार्टी विलय गरेर सघाउन प्रचण्ड र माकुनेहरूलाई ढोका खुल्ने छ । त्यही बेला अध्यक्षमण्डल बनाएर जान आफू तयार रहेको भण्डारीले उनीहरूलाई सन्देश पठाइसकेको सुनिन्छ । यस हिसाबले पनि ओलीको सँगै कांग्रेसको दिन गन्ती सुरु भएको सङ्केत गर्दछ ।