काठमाडौं । गत चैत (विसं २०८१) मा पोखरा भ्रमण वर्ष सुरु भएको छ । त्यस्तै, कोशी प्रदेश सरकारले पनि विसं २०८२ भर ‘कोशी प्रदेशस्तरीय पर्यटन वर्ष–२०८२’ मनाइने भएको छ । त्यस्तै, गरेर नगरकोटमा पनि नगरकोट क्षेत्रका वरिपरिका चार वटा स्थानीय तहहरू मिलेर आन्तरिक तथा बाह्य पर्यटक बढाउने हिसाबले ‘नगरकोट भ्रमण वर्ष–२०८२’ मनाइँदै छ । यीबाहेक अरू गाउँठाउँमा पनि स्थानीयस्तरमा भ्रमण वर्ष मनाउने घोषणा गरेका छन् । त्यसो त हरेक मेला, महोत्सव एवं भ्रमण वर्षले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महत्वपूर्ण कडीका रूपमा भूमिका खेल्ने गर्छ । यसै सन्दर्भमा नेपाली पर्यटन क्षेत्रले वा भनौँ हामी नेपालीहरूले पर्यटन प्रवर्द्धनमा हङकङ भन्ने देशबाट केही सिक्न सक्छौँ कि ? भनी सन् २०२३ मा हङकङ सरकारले गरेको अपनाएको पर्यटन प्रवर्द्धन गर्ने नीतिले लिएको सफलताले हामीलाई पनि प्रोत्साहित गर्छ, काम गर्ने तरिका सिकाउँछ कि ? भनी यो लेखमा सो सम्बन्धमा केही लेख्दैछु । हुन त विश्व पर्यटन जगतमा समेत थामिनसक्नुको प्रतिस्पर्धा भइरहेको देखिन्छ । फलतः विश्वका कयौँ देशले आफ्नो देशमा कसरी धेरैभन्दा धेरै विदेशी पर्यटकहरू भित्र्याउन सकिन्छ ? भनी विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने तत्कालीन र दीर्घकालीन नीति एवं कार्ययोजनाहरू बनाउने, लागू गर्ने गर्छन्, सक्दो धेरै विदेशी पर्यटक भ्रमण गराउन र भ्रमण गर्न आकर्षित गर्ने प्याकेजसहित विभिन्न अभियानहरू चलाउँछन् ।
हङकङ सरकारले पनि सन् २०२३ मा (कोरोना महामारीबाट देश तङ्ग्रिँदै गर्दा) आफ्नो देशमा धेरैभन्दा धेरै विदेशी पर्यटकहरू भित्र्याउन भनेर दक्षिण–पूर्वी एसियाली टापु देश हङकङको सरकार मातहत रहेको ‘हङकङ टुरिज्म बोर्ड’ले पनि आफ्नो देशमा धेरैभन्दा धेरै विदेशी पर्यटकहरूलाई आकर्षित गर्न ‘हेलो हङकङ’ (अंग्रेजीमा ‘हङ’ छुट्टै र ‘कङ’ छुट्टै लेखिन्छ, लेखिएको छ) भन्ने नारा (‘स्लोगन’)सहित अभियान चलाएको थियो । त्यसरी ‘हङकङ टुरिज्म बोर्ड’ले सन् २०२३ मा ल्याएको ‘हेलो हङकङ’ अभियानअन्तर्गत आफ्नो भूमिमा विदेशी पर्यटकको आगमन दर बढाउने उपाय अपनाएको थियो । सो अभियानअन्तर्गत सन् २०२३ मा हङकङ भ्रमण गर्न आउने ‘पाँच लाख विदेशी पर्यटकलाई निःशुल्क हवाई टिकट उपलब्ध गराएको थियो । त्यसरी हङकङ सरकारले ‘हङकङ टुरिज्म बोर्ड’मार्फत ‘हेलो हङकङ’ अभियान चलाएर आफ्नो भूमिमा सन् २०२३ मा भ्रमण गर्न आउने विदेशी पर्यटकहरूको संख्या बढाउने कार्यक्रम ल्याउनुपर्ने कारणचाहिँ के थियो भने भर्खरै कोरोना महामारी अन्त्य भएको घोषणा गरिएको थियो । त्यसैले हङकङ सरकारले ‘हेलो हङकङ’ अभियानमार्फत आफ्नो भूमिमा विदेशी पर्यटकको आगमन दर बढाउने सो अभियान ल्याएको थियो । सो अभियानअन्तर्गत ‘हङकङ टुरिज्म बोर्ड’को समन्वय, रेखदेख र परिचालनमा सन् २०२३ मा ल्याएको ‘हेलो हङकङ’ अभियानअन्तर्गत आफ्नो भूमिमा विदेशी पर्यटकहरूको आगमन दर साविक (कोरोना महामारीअघि)भन्दा पनि बढाउने उपायका रूपमा ल्याएको कार्यक्रममा मुख्यतया चार वटा कुरालाई ध्यानमा राखिएको थियो ।
१. ‘हेलो हङकङ’ अभियानअन्तर्गत विश्वभरिका प्रायः सबै देशका पाँच लाख पर्यटकहरूलाई छानेर निःशुल्क हवाई टिकट उपलब्ध गराएर हङकङ भ्रमण गराउने । त्यसरी निःशुल्क हवाई टिकटमा हङकङ आउने विश्वभरिका पाँच लाख पर्यटकलाई हङकङमा रहेका महत्वपूर्ण पर्यटकीस्थल र सङ्ग्रहालय हेराउने, सङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम अवलोकन गराउने, हङकङमा उत्पादन भएका÷बनेका विभिन्न सरसामान किनमेल गर्नका लागि नगद भौचरहरू उपलब्ध गराउने ।
२. विभिन्न देशका व्यापार–व्यवसायीका नेतृत्व तहमा रहेका नेताहरू, राजनीतिक दलका नेताहरू एवं मिडिया क्षेत्रका प्रतिनिधि (पत्रकार)हरूलाई भ्रमण खर्च हङकङ सरकारले व्यहोरेर हङकङ भ्रमण गराएर हङकङको विकास र सफलताका कथा सुनाउने, हङकङमा के–के सम्भावना छ ? सो सम्बन्धमा विश्वका प्रायः देशका व्यापार–व्यवसायीका नेतृत्व तहमा रहेका नेताहरू, राजनीतिक दलका नेताहरू र मिडिया क्षेत्रका प्रतिनिधि (पत्रकार)हरूलाई बताउने, सुनाउने र प्रचारप्रसार गराउने (सिक्नका लागि प्रेरित गर्ने) उद्देश्य लिइएको ।
३. हङकङ सरकारले आफ्नो देशको सफलताका कथा विश्वका मानिसहरूलाई भन्ने, बताउने अवसरका रूपमा लिने । साथै, मुख्यभूमि चीनका साथै विश्वका देशलाई हङकङमा भएका–रहेका दुर्लभ, फरकपन अन्यत्र नभएका वा नपाइने चिजबिचहरू देखाउने अवसरका रूपमा लिने । साथै, हङकङ सरकारले कसरी आफ्नो देशको संस्कृति, पर्यटन र व्यापारको विनिमय गरिरहेको छ ? भन्ने देखाउन अझ खास गरिकन मुख्य भूमि चीन र (‘एक देश दुई व्यवस्था’) को अवधाणाअन्तर्गत चलिरहेको छ ? भन्ने देखाउने एवं बुझाउने अवसरका रूपमा लिने ।
४. बढीभन्दा बढी खर्चिला पर्यटकहरू हङकङ भित्र्याउने । जस्तो कि विभिन्न देशको संघ–संस्थाहरूको बैठक, मोटिभेसननल कार्यक्रम, सम्मेलन, प्रदर्शनहरू (मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स, एक्जिबिसन) आदि हङकङमा गराउन प्रोत्साहित गर्न आग्रह गर्ने कार्यक्रम ल्याउने । हुन पनि पछिल्लो पटक विश्वभरिमा चलेको ‘मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स, एक्जिबिसन टुरिज्म’लाई छोटकरीमा ‘माइस टुरिज्म’ भन्ने गरिन्छ । यसरी हङकङ सरकारले सन् २०२३ लाई ‘हेलो हङकङ !’ भन्ने नारा र अभियानसहित नयाँपन दिने उद्देश्यसहितको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरेर ‘हेलो हङकङ !’ मनाएको थियो ।
यसरी हेर्दा हङकङ सरकारले सन् २०२३ को फेब्रुअरी २ मा सुरु गरेको अभियान जुन अभियान विदेशी पर्यटकको संख्या बढाउनका लागि र आफ्नो देशमा रहेका महत्वपूर्ण पर्यटकीस्थलहरू र सङ्ग्रहालयहरू देखाउने, आफ्नो देशको व्यापार–व्यवसाय बढाउने, आफ्नो देशको विकासक्रम र सफलताका कथाहरू सुनाउने एवं प्रकारले विदेशीहरूका हङकङमा आएर गर्ने के–के सम्भावनाहरू रहेको छ ? सो सम्बन्धमा विश्वलाई बताउने, सुनाउने र प्रचारप्रसार गराउने महान उद्देश्यले ‘हेलो हङकङ !’ अभियान सफलतापूर्वक सञ्चालन गरेको थियो ।
पर्यटन प्रवर्द्धनको सन्दर्भमा भन्नुपर्दाखेरि हाम्रो देशको सरकार (नेपाल) ले पनि बेलाबेलामा भ्रमण वर्षलगायत अन्य पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम र गतिविधिहरू आयोजना गर्नेगर्छ । सो क्रममा यति लाख विदेशी पर्यटक नेपाल भित्र्याउने भनी संख्या तोकेरै घोषणा पनि गर्ने गर्छ । तर, कहिल्यै धार्नी पुग्दैन । हुन पनि माथि नै भनिएको छ कि आजभोलिको जमाना भनेको प्रतिस्पर्धाको हो । त्यसमा पनि विश्व पर्यटन जगतमा त थामिनसक्नुको प्रतिस्पर्धा भई रहेको छ । नेपालमा विदेशी पर्यटक बढाउने सन्दर्भमा कुरो गर्दा नेपालले पनि विगतमा पटकपटक पर्यटनसम्बन्धी विभिन्न घोषणाहरू गरेको छ । जस्तो कि ‘नेपाल भ्रमण वर्ष–१९९८’, ‘अन्तर्राष्ट्रिय पर्वतीय वर्ष–२००२’, ‘नेपाल भ्रमण वर्ष–२०११’, ‘लुम्बिनी भ्रमण वर्ष–२०१२’ र केही समयअघि घोषणा गरिएको ‘पोखरा भ्रमण वर्ष–२०२५’ आदि ।
‘पोखरा भ्रमण वर्ष–२०२५’ मनाउने क्रममा त आयोजकहरूले पत्याउनै नसकिने गरी घोषणा गरेका छन् । त्यो के भने ‘पोखरा भ्रमण वर्ष–२०२५’ मा २५ लाख स्वदेशी तथा विदेशी पर्यटक पोखरा भित्र्याउने ! के साँच्चै सन् २०२५ मा स्वदेशी तथा विदेशी गरेर २५ लाख पर्यटकले पोखरा भ्रमण गर्ने सम्भावन छ ? किनभने त्यसरी ‘पोखरा भ्रमण वर्ष–२०२५’ मनाउने घोषणा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि कुनै छुट वा सहुलियतका प्याकेज पनि ल्याएका छौँ त ? त्यस्तो त केही पनि यो पङ्तिकारलाई थाहा भएन । त्यसैले यो प्रश्नचाहिँ महत्वपूर्ण हो कि ?
जसरी सन् २०२३ मा हङकङ सरकारले ‘पाँच लाख विदेशी पर्यटकलाई निःशुल्क हवाई टिकट उपलब्ध गराएर ‘हेलो हङकङ’ अभियान गरेको थियो, हामी नेपालीहरूले पनि आगामी दिनमा हामीले पनि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाल भ्रमण वर्ष’ वा नेपाल भ्रमण दशक अथवा अन्य कुनै खालका पर्यटन प्रवद्र्धनात्मक अभियान गर्दा वा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम आदि गर्दा स्वदेशी तथा विदेशी पर्यटकका के–के कुरो पूर्ण छुट दिन सकिन्छ, कुन–कुन कुरो आधा छुटमा दिन सकिन्छ, कुन–कुन कुरो २५–३० प्रतिशत छुट गर्न सकिन्छ ? पहिले नै बहस र छलफल गरेर विदेशी तथा स्वदेशी पर्यटकहरूलाई ‘यो–यो छुट र सहुलियतका प्याकेज दिन सकिन्छ ।’ भनी घोषणा गर्दा अर्थपूर्ण होला ? कुरो नचपाई भन्नुपर्दा हालै घोषणा गरिएको ‘पोखरा भ्रमण वर्ष–२०२५’ले त साह्रै लाजमर्दो अवस्था ल्याउने देखिन्छ । खासगरीकन संख्या जुन तोकिएको छ, २५ लाखको । त्यो साँच्चै वास्तविक धरातलमा आधारित रहेको छ ? किनभने भने पोखरामा हालसम्म वार्षिक साढे आठ लाखदेखि नौ पर्यटक पुग्छन् भन्ने अनौपचारिकरूपमा भनाइ रहेको छ । भलै पोखरामा हालसम्म वार्षिकरूपमा कति लाख पर्यटक पुगेका छन् ? भनेर सायदै कसैले आधिकारिकरूपमा अध्ययन गरेको होला । त्यसमा पनि न त हवाई यातायात नै प्रशस्त छ । त्यसो त हवाई यातायातको कुरो गर्दा लगभग दुई वर्षदेखि पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ । चालू पनि भइसकेको छ । सो विमानस्थल चुस्त र दुरुस्त पनि छ । तर पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म अपेक्षितरूपमा अन्तर्राष्ट्रिय हवाई उडान चाहिँ हुन सकेको छैन ।